गण्डकी प्रदेश

एक गाउँ एक प्राविधिकलाई उपकरण प्रदान

दमौली । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ लाई सेवा सञ्चालनका लागि उपकरण प्रदान गरेको छ । पशुपालक कृषकको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यले मन्त्रालयले तनहुँ र नवलपुरका पशु सेवा प्राविधिकलाई विभिन्न उपकरण प्रदान गरेको हो ।

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले मङ्गलबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी ३४ पशु सेवा प्राविधिकलाई विभिन्न सात उपकरण प्रदान गरेको छ । उपकरण पाउनेमध्ये तनहुँका २० र नवलपुरका १५ पशु सेवा प्राविधिक रहेको प्रयोगशालाका प्रशिक्षक डा गणेश केसीले जानकारी दिए।

उनका अनुसार पशु सेवा प्राविधिकलाई माइक्रोस्कोप, सर्जिकल सेट, खसी पार्ने उपकरण, सेन्टीफ्युज लगायतका उपकरण प्रदान गरिएको छ । माइक्रोस्कोप भने तनहुँमा चार र नवलपुरमा दुई मात्रै प्रदान गरिएको उनले जानकारी दिए। पशु सेवा प्राविधिकलाई करीब रु १४ लाखको उपकरण प्रदान गरिएको छ । पशु सेवा विभागमार्फत गत वर्ष नै वितरण गर्नुपर्ने ती उपकरण प्राविधिक कारणले वितरणमा ढिलाइ भएको थियो ।

उपकरण पाएसँगै कृषकको घरघरमै पुगेर सेवा दिन सहज हुने पशु सेवा प्राविधिक धनराज कुमालले बताए । उनले भने, “उपकरणको अभावमा सेवा प्रवाहमा असहजता उत्पन्न भएको थियो, अब भने सहज हुने भएको छ ।” पशु सेवा प्राविधिकलाई उपकरण प्रदान गर्दै गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि र पशुपालनमा प्रदेशलाई आत्मनिर्भर बनाउन पशु प्राविधिकको महत्वपूर्ण भूमिका रहने बताए।

उनले समयमै उपचार नपाउँदा पशुको मृत्युसमेत हुनसक्ने भएकाले पशु प्राविधिक त्यसप्रति बढी संवेदनशील हुनुपर्नेमा जोड दिए। मन्त्री थापाले कृषिमा श्रमप्रतिको विश्वास जगाउन आवश्यक रहेकामा जोड दिँदै कृषकलाई काम गर्ने वातावरण सिर्जना गर्न प्रदेश सरकार सदैव क्रियाशील रहेको प्रतिबद्धता जनाए ।  युवापुस्तालाई कृषिमा आकर्षण गर्नका लागि नीति बनाउन सरकार लागिपरेको बताउँदै उनले कृषिलाई सम्मानित पेशा बनाइने बताए।