गण्डकी प्रदेश

धान्याञ्चल लगाएर विद्यालयको पुःननिर्माण

गलकोट । बागलुङ जिल्लाको सदरमुकामस्थित विद्यामन्दिर माध्यामिक विद्यालयको भवन पुनःनिर्माण गरी सुविधासम्पन्न गरिएको छ । जीर्ण अवस्थामा रहेको विद्यालय भवन विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएपछि विद्यालयले पुःननिर्माण गरेको हो ।

पुनःनिर्माणका लागि आवश्यक रकमको अभाव भएका कारण विसं २०७३ कात्तिक ३ देखि १० गतेसम्म धान्याञ्चल महायज्ञको आयोजना गरी रकम जुटाइएको थियो । साविक धवलागिरि अञ्चलकै पुरानो सामुदायिक विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयको सुविधासम्पन्न भवनमा अध्ययन गर्न पाउँदा विद्यार्थीलाइै निकै सहज भएको छ ।

विद्यालयमा २६ कोठे सुविधासम्पन्न भवन रु चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीले बताए । धान्याञ्चलमा एकै व्यक्तिले अधिकतम रु १५ लाखसम्म सहयोग गरेक थिए । पुनःनिर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयले रु ६० लाखसमेत सहयोग गरेको विद्यालयका प्रधानध्यापक जगन्नाथ आचार्यले बताए।

विसं २०६१ मा कक्षा ११ र १२ मा साविक धवलागिरि अञ्चलकै पहिलो विज्ञान सङ्काय शुरूआत गरेको विद्यालयले हाल शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायको पढाइ सञ्चालन गराउँदै आएको छ । नर्सरीदेखि १२ कक्षासम्म पढाइ हुने विद्यालयमा अहिले एक हजार २०० विद्यार्थी अध्ययनरत छन् । विसं १९९७ मा शिक्षासेवी ओमप्रसाद गौचन र मेघकुमार वैद्यले स्थापना गरेको पुरानो सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने योजनामा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी बताए ।