खेलकुद

नेपाली सेनामा तालीमरतबीच मैत्रीपूर्ण फुटबल

विदुर । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा सोमबार नेपाली सेना अधिकृत आधार तालीम समूह र सैन्य आधार तालीम समूहबीच भएको फुटबलमा अधिकृत समूह ३–२ गोलले विजयी भएको छ ।

श्री नं १ तालीम केन्द्र त्रिशूलीको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा अफिसर क्याडेट समूह एक गोल अन्तरले विजयी भएको हो । अफिसर क्याडेटका सन्दीप ढुङ्गानाले २ र दीपेश शाहीले एक गोल गरेको तालीम केन्द्र त्रिशूलीका गणपति खेमराज शर्माले बताए। शर्माका अनुसार सैन्यले एक गोल आत्मघाती गोल पाएको र सन्तोष विकले एक गोल गरेका थए ।

प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्विबहादुर प्रधान र नुवाकोट फुटबल सङ्घका उपाध्यक्ष उद्वव पनेरुले सिपाहीमा तालीमरत खेलाडीबीच पहिलो पटक खुला मैदानमा आयोजना गरिएको प्रतियोगिताले नागरिक–नेपाली सेनाबीच सौहार्दपूण सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताए। विजयी टोलीलाई ४०–४० केजीका दुई खसी प्रदान गरिएको श्री नं तालिम केन्द्रले जनाएको छ ।