पु.समाचार

रक्तचन्दन र लागुऔषधसहित पक्राउ

भक्तपुर । महानगरीय प्रहरीवृत्त जगातीको चेकपोष्टले जगातीबाट रक्तचन्दन र लागुऔषधसहित पक्राउ गरेको छ ।

सुरक्षा जाँचका क्रममा सूर्यविनायक नगरपालिका– ८ जगातीमा उदयपुर बेलटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख २३०० नं को माइक्रोबसले छतमा बोरामा राखी ल्याउँदै गरेको ५६ टुक्रा रक्तचन्दनसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का ३६ वर्षीय बुद्धि तामाङ र उदयपुर बेलटारका १९ वर्षीय मोहन नेपालीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको र काठ जिल्ला वन कार्यालयलाई बुझाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

त्यसैगरी प्रहरीले जगाती चेकप्वाइन्टमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा४१प ३१५५ नंको मोटरसाइकलमा जाँच गर्दा झोलामा बोकेर ल्याइएको लागुऔषधसहित धनकुटा महाभारत गाउँपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोक बनेपा बस्ने २४ वर्षीय राजेश राईलाई पक्राउ गरेको छ ।

प्रहरीले निजको साथबाट अवैध लुपिजेसिक, एभिल, फेनरागन, डाइजेपाम र नाम नखुलेको औषधिसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । लागुऔषधसहित आएको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने २६ वर्षीय मदन राई मोटरसाइकलसहित फरार रहेकाले खोजी कार्य भइरहेको उनले जानकारी दिए ।