आर्थिक

मेगा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो

काठमाडौं । मेगा बैंक नेपालले चालु आर्थिक वर्ष २०७५–७६ को तेस्रो त्रैमासिक अवधिसम्म १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमाससम्म ७३ करोड २० लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले तेस्रो त्रैमासिक अवधिमा थप ४८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । आर्थिक बर्ष २०७४–७५ को चैत्र मसान्तसम्म ५२ करोड ४९ लाख रुपैयाँ मुनाफा गरेको बैंकले यस आर्थिक वर्षको सोही अवधिमा १३१ प्रतिशतले अधिक मुनाफा गर्न सफल भएको छ ।

२०७५ चैत्र मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ जुन ७४.८८ प्रतिशतको वृद्धि हो । त्यसैगरी, खुद कर्जा तथा सापटी २८ अर्ब ७१ करोडले वृद्धि भई ७० अर्ब रुपैयाँ कायम भएको छ जुन ६९.५४ प्रतिशतको वृद्धि हो ।

यहाँहरुको विश्वास जित्दै मेगा बैंक अघि बढ्दै भन्ने नाराका साथ मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ९६ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,४०० भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।