समाचार

काँग्रेस संविधान संशोधनको पक्षमा अडिग रहेको छः उपसभापति निधि

काठमाण्डौ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सङ्घीयतालाई कार्यान्वयन गर्ने कुनै कार्यक्रम नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सरकारको नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुनै कार्यक्रम छैन ।”

उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रम अश्वासनको पोको मात्रै हो, यो कार्यक्रमविहीन र नीतिविहीन रहेको आरोप लगाउँदै सङ्घीयता र संविधान विरोधी नीति तथा कार्यक्रमले संविधान संशोधनको मुद्दालाई पनि गौण बनाएको बताए ।

उनले काग्रेस अहिले पनि संविधान संशोधनको पक्षमा अडिग रहेको बताउँदै मधेशवादी दल नै संविधान संशोधनमा रुचि नराखेको चर्चा गरे । उपसभापति निधिले प्रदेश नं २ को नामकरण मधेश नभई मिथिला–भोजपुरा राख्नुपर्ने धारणा व्यक्त गरे ।