लुम्बिनी

नेपालगञ्जको न्यूरोड ‘ग्रिनबेल्ट’ सौन्दर्यकरणको विवाद

नेपालगञ्ज । नेपालगञ्जको न्यूरोडमा रहेको हरित पेटी(ग्रिन बेल्ट)को सौन्दर्यकरणको विवाद समाधानका लागि पहल थालिएको छ । हरियाली अभियान कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले रु १८ लाखको लागतमा न्यूरोड क्षेत्रको ग्रीनबेल्टको बीच भागमा टायल लगाएर सौन्दर्यकरण गर्न थालेपछि विवाद उत्पन्न भएको थियो ।

ठेकेदारले काम गर्दा स्थानीयले काम गर्न नदिएपछि विवाद शुरु भएको हो । सो क्षेत्रका व्यापारी कृष्णप्रसाद श्रेष्ठले ग्रिनबेल्टको बीच भागमा टायल नलगाई रुख रोपेर सौन्दर्यकरण गर्नुपर्ने बताएका छन् । “हामी विकास विरोधी हैनौँ, तर विकासको नाममा स्थानीयलाई पन्छाएर काम गर्नु हुन्न भन्ने हाम्रो माग हो”, उनको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले यो विवाद न्यूरोडका स्थानीयसँग छलफल गरेर टुङ्ग्याइने बताए। “हामीले हरियाली मास्न खोजेका हैनाँै, थप रुख रोपेर भुइँमा टायल मात्र लगाउन खोजेका हौँ”, उनले भने।

नेपालगञ्ज देशकै धेरै गर्मी हुने शहरका रुपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन तापक्रम बढ्दै गएकाले विकास निर्माणको कामसँगै हरियाली अभियानलाई पनि समावेश गर्नुपर्ने माग बठेको हो ।

नगरपालिकाले हरियाली अभियानअन्तर्गत एक घरले कम्तीमा एउटा रुख रोप्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ तर घर निर्माण गर्ने क्रममा यो व्यवस्थालाई त्यति कडाइका लागि नगरपालिकाले पालना गराएको भने पाइँदैन । नगर प्रमुख राणा भन्छन्, “यसको हामीले सूक्ष्म अध्ययन गरिरहेका छौँ । यसको पालना गर्दै नगरपालिकाको सेवा सुविधाबाट वञ्चित गरिनेछ ।”

“आउँदो चार वर्षसम्म यो अभियान सञ्चालन हुनेछ । नेपालगञ्जलाई हरियालीयुक्त शहरमा रुपमा विकास गर्ने अभियानको मूल उद्देश्य छ”, नगर प्रमुख राणाको थप भनाइ छ, “सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरको टोलटोलका सडक किनारमा रुख रोपेका पनि छौँ ।”

नेपालगञ्जलाई हरियालीयुक्त शहर बनाउन नगरपालिकासँग थुप्रै चुनौती पनि छ । नगरका अधिकांश साँघुरा बस्तीमा रुख रोप्ने ठाउँ नै बाँकी नराखी बनाइएका सडक, नालाका कारण अभियानले सोचे जस्तो परिणाम दिन सक्ला जस्तो देखिँदैन । “हामी त्यसको पनि कुनै विकल्प खोज्छौँ, ठूलो रुखको सट्टा स–साना बोटबिरुवा त्यस्ता बस्तीमा लगाइने छ”, नगर प्रमुख राणाको कथन छ ।

अभियानको शुरुआती चरणमा नेपालगञ्ज सुर्खेत सडकखण्डको राझादेखि जमुनहासम्म रुख रोपिएका छन् । त्यस कार्यमा नगरपालिकालाई नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ, ग्रिन नेपाल क्लिन नेपाल, बी गु्रपलगायतका संस्थाले सघाउँदै आएका छन् ।

बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि, वातावरण प्रदूषण, रुख बिरुवाको जथाभावी कटान र सवारी साधनको धुवाँजस्ता कारण नेपालगञ्जको तापक्रम वृद्धि हुँदै गएको छ । “यिनै कुरालाई दृष्टिगत गरी नेपालगञ्जको हरियाली अभियानमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले सघाएको हो । यसका लागि नगरपालिकालाई हामी सबैखाले सहयोग गर्न तयार छौँ, सङ्घका अध्यक्ष नन्दलाल वैश्य बताउँछन् ।

हरियाली अभियानको साथसाथै नेपालगञ्जलाई ध्वनि निशेष गर्ने नीति पनि नेपालगञ्ज उपमहानगरपालिकाले तय गरेको छ । नगरमा गुड्ने सवारी साधनमा हर्न बजाउन निशेष गरिएको छ भने मन्दिर र मस्जिदबाट प्रसारण गरिने चर्को आवाजको माइकको प्रयोग नगर्न पनि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ ।

विवाह, भोजभतेरमा अरुलाई प्रभाव गर्ने गरी डिजे बजाउन पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । यो निर्णयलाई सघाउन यहाँका मुस्लिम धर्मगुरुको बैठकले मुस्लिम समुदायको विवाह र अन्य कार्यक्रममा डिजे प्रयोगमा पूर्ण प्रतिबन्ध नै लगाएको छ ।

“हामीले ध्वनि प्रदूषणलाई पनि प्रभावकारी वातावरण सुधारको एक महत्वपूर्ण कडीका रुपमा लिएका छौँ”, नगर प्रमुख राणाको भनाइ छ, “यसका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ, धार्मिक तथा सरोकारवाला सामाजिक संस्थालाई योजनाभित्र समेटिएको छ ।”