समाचार

समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै

काठमाडौँ । प्रहरीले यही वैशाख १० गते पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ का ३९ वर्षीय उमेश सहनीलाई करीब ७० किलो अवैध लागुऔषध गाँजासहित घरबाट पक्राउ गर्‍यो । वैशाख ३ गते काठमाडौँ कोटेश्वर बस्ने सिन्धुलीको मरिण गाउँपालिका–४ का ३९ वर्षीय देवकुमार घिसिङ र कमलामाई नगरपालिका–२ का ३० वर्षीय पदमबहादुर श्रेष्ठलाई ५० किलो गाँजासहित लाजिम्पाटबाट नियन्त्रणमा लियो ।

त्यस्तै गत फागुन ५ गते रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कबाट ३० किलो अवैध लागुऔषध चरेशसहित मकवानपुर थाहा नगरपालिका–७ का ३६ वर्षीय राजकुमार स्याङ्तान, ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शङ्कर तामाङ पक्राउ परे । सहनी, घिसिङ, श्रेष्ठ, स्याङ्तान र तामाङलगायत लागुऔषध कारोवारी पक्राउ परेका प्रतिनिधि घटनामा मात्र हुन् । प्रहरीले पछिल्लो समय ठूलो सङ्ख्यामा उनीहरु जस्तै लागुऔषध दुव्र्यसनी र अवैध कारोवारमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी सक्रियता र नागरिकसँगको सहकार्य नै अवैध लागुऔषध कारोवारमा संलग्न अभियुक्त धमाधम पक्राउ पर्नुको प्रमुख कारणका रुपमा देखिएको छ । कार्यक्रम लागू भएपछि लागुऔषध कारोवार नियन्त्रणमा उल्लेख्य सफलता मिलेको प्रहरीले जनाएको छ ।

प्रहरीले पछिल्ला आठ महीनाको अवधिमा लागुऔषध प्रयोगकर्ता, कारोवारी तथा ओसारपसारमा संलग्न तीन हजार ७६४ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन हजार ५७७ पुरुष र १८७ महिला छन् । तीमध्ये १२९ विदेशी नागरिक रहेका छन् । सो अवधिमा दुई हजार ४४५ मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सो अवधिमा चार हजार ६३७ किलो ६२४ ग्राम गाँजा, दुई हजार ६७ किलो चरेश, आठ किलो २२ ग्राम हेरोइन र पाँच किलो ७०० ग्राम अफिम बरामद गरिएको छ । त्यसैगरी लागुऔषधका रुपमा लिइने साइकोट्रोपिक्स औषधि एक लाख ८० हजार २१३ ट्याब्लेट, एक लाख ४७ हजार ९७२ एम्पुल, दुई हजार ५९१ कोरेक्स, एक हजार ४२२ डाइलेक्स, ७३५ एम्फेटामाइन, २७८ फेन्सिडेल, ८१ पोल्याण्ड, ३१ प्रोजिन, १८ डिआर रेडिड्सलगायत लागुऔषध बरामद भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी सङ्गठित एवं अन्तर्राष्ट्रिय गिरोहको सञ्जालले लागुऔषध कारोवार नियन्त्रण थप चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । विकास र शान्तिमा नकारात्मक असर पार्ने र विकृति फैलाउने लागुऔषधको कारोवारलाई रोकी दुव्र्यसनमुक्त समाज निर्माण गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले भने, “लागुऔषध दुव्र्यसन, यसको कारोवार, ओसारपसार, अन्तर्राष्ट्रिय समस्याका रुपमा देखापरेको छ । यसलाई निराकरण गर्न नेपाल प्रहरीले विभिन्न उपाय अपनाउँदै आएको छ ।”

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले लागुऔषध नियन्त्रण तथा सेवन न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै प्रवक्ता सुवेदीले समुदायसँग निकट भएसँगै कारोवारीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको बताए । सरकारले लागुऔषध कारोवार नियन्त्रणका लागि लागुऔषध नियन्त्रण रणनीति २०६६ लागू गरेको छ । गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ मा लागुऔषधसम्बन्धी नीति तथा योजना समावेश गर्नुका साथै लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियान, २०७५ शुरु गरिसकेको छ ।