गण्डकी प्रदेश

महानगरपालिकामा सिसी क्यामरा जडान गरिने

पोखरा । अपराधिक गतिविधिलाई रोकथाम गर्ने उद्देश्यले पोखरा महानगरपालिकाका थप छ वडामा सिसी क्यामरा जडान गरिने भएको छ । सिसी क्यामरा जडान गरिने क्षेत्रका दृश्य जिल्ला प्रहरी कार्यालयको कक्षबाट अवलोकन गर्न सकिने बताइएको छ । महानगरपालिकाको लेकसाइड लगायत अन्य वडाका कतिपय व्यस्त ठाउँहरुमा सिसी क्यामरा जडान भइसकेका छन् ।

शान्ति सुरक्षालाई ध्यानमा राखी महानगरपालिकाको २६, २७, २९, ३०, ३१ र ३२ वडाका विभिन्न व्यस्त ठाउँमा सिसी क्यामरा जडान गर्ने सम्बन्धमा लेखनाथ सामुदायिक सेवा केन्द्रद्वारा सोमबार आयोजित छलफल कार्यक्रममा सो सहमति भएको हो । प्रारम्भिक चरणमा रु ३३ लाखको लागतमा पोखरा–२६ को विजयपुरदेखि कोत्रेसम्म र तालचौकदेखि वेगनास ताल, पोखरा विश्वविद्यालय, अर्रधौचोकदेखि रिठ्ठेपानी, तल्लो गगनगौँडादेखि राजाको चौतारा र राजमार्ग क्षेत्रसमेत गरी ३१ सिसी क्यामेरा जडान गर्ने लक्ष्य राखिएको बताइएको छ ।

सो अवसरमा प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले सिसी क्यामरा जडान भएपछि आपराधिक मानसिकता कमजोर हुनुका साथै यसको नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे। लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णहरि भण्डारीले यस अवधारणलाई साकार पार्न सरोकार निकायबीच सहकार्य गरी प्राविधिक पक्षको सम्बन्धमा गहन छलफल आवश्यक रहेको सुझाव दिए। सिसी क्यामरा जडान समितिका संयोजक मोती गिरीले सामाजिक उत्तरदायित्वअन्तर्गत यस अभियानलाई सफल बनाउन विभिन्न सङ्घ–संस्थाको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।