स्वास्थ्य

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

भोजपुर । रामप्रसाद राई गाउँपालिका–३ घर भई हाल भोजपुर नगरपालिका–९ भोटेपसलमा बस्दै आएकी सुत्केरी कमला राईको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आज बिहान ३ः३८ बजे घरैमा छोराको जन्म दिएकी कमलाको अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५’ अनुसार कमलाको उद्धार गरी हेलिकप्टरमार्फत थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको प्रजिअ नुरहरि खतिवडाले जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ बाट राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी अवस्थामा स्वास्थ्य समस्याका कारण ज्यान जोखिममा रहेकालाई तत्काल हवाई उद्धार गरी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

सरकारले लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मन कठिनाइ भएका, गर्भमा नै बच्चाको मृत्यु भएका, गर्भ अवस्थामा हातखुट्टा शरीर सुन्निएका, अधिक रक्तस्राव भएका, रक्तअल्पत्ता भएका, गर्भवती तथा सुत्केरी महिलालाई ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला’ भनी परिभाषित गर्दै त्यस्तो अवस्थाका महिलालाई उद्धार गर्ने गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम अधिकृत अञ्जु ढुङ्गानाले जानकारी दिए।