राजनीति

७७ वटै जिल्लामा सरकार बिरुद्धको ‘जागरण अभियान’ नयाँ शैलीमा हुन्छः काङ्ग्रेस

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ कार्यशैलीका साथ ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गर्दैछ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गरी यही वैशाख २५ गतेदेखि शुरु हुने राष्ट्रिय जागरण अभियान नयाँ शैलीका साथ मुलुकसँगै विदेशका ३३ देशमा सञ्चालन हुने जानकारी दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय जागरण अभियान वैशाख २५ देखि जेठ २५ गतेसम्म प्रथम चरण, भदौ २४ (बिपी जयन्ती)देखि असोज १० गतेसम्म दोस्रो चरण र पुस ७ देखि पुस १६ गतेसम्म (राष्ट्रिय एकता तथा मेलमिलाप दिवस) तेस्रो चरण सञ्चालन हुने जानकारी दिए ।

अभियानअन्तर्गत भिन्न भातृ संस्था भिन्न मुद्दाका कार्यक्रम, ७७ जिल्लामा एकसाथ उद्घाटन, आशन ग्रहणमा परम्परागत शैलीको अन्त्य, स्वागत र विसर्जनबाहेक केबल तीन वक्ता रहने उनले बताए । विषय प्रवेश, महिला वक्ताको मन्तव्य, प्रमुख अतिथिको मन्तव्य रहने र कार्यक्रमको मूल ब्यानर र प्रचार सामग्री देशव्यापीरुपमा सबै तहमा एउटै हुनेछ । प्रवक्ता शर्माले यस अभियानमा व्याज वितरण र धेरै तौलको मालाले स्वागत गर्ने परम्पराको अन्त्य हुने बताए ।

उनले भने, “अभियानका लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा पार्टीको जागरण गीतको व्यवस्था गरेका छौँ ।” अभियानको प्रारम्भ हुने दिन वैशाख २५ गते अलगअलग प्रदेशका जिल्लामा प्रमुख नेताले सम्बोधन गर्नेछन् । यसबीचमा पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन, शपथ ग्रहण र दुईदिने बैठकमार्फत जागरण अभियानलाई अझ प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रम प्याकेज घोषणासमेत गरिएको उनले जानकारी दिए ।

त्यस्तै पार्टीको केन्द्रीय अनुशासन समितिले जागरण अभियानलाई अनुशासित र व्यवस्थित बनाउने उद्देश्यका साथ पार्टी हितविपरीतका गतिविधि कोहीबाट पनि नहुन् भन्ने अभिप्रायका साथ ‘डेमोक्र्याटिक लयर्स एशोसियसन’को राष्ट्रव्यापी संरचनालाई पर्यवेक्षण अभिभारा सुम्पिइएको काङ्ग्रेसले जनाएको छ । काठमाडौँमा रहेका काँग्रेसका ५१ जिल्ला सम्पर्क समितिको भेला पार्टी केन्द्रीय कार्यालयको संयोजनमा केन्द्रीय कार्यालयमा भएको र भेलाले अभियानलाई तीव्रता दिन महत्वपूर्ण प्रस्ताव पारित गरेको प्रवक्ता शर्माले जानकारी दिए । अभियानका लागि काङ्ग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाइसकेको जनाएको छ ।