बाग्मती

प्रदेश सरकारको १० करोड ५७ लाख निकासा

हेटौँडा । प्रदेश नं ३ सरकारले प्रदेशका विभिन्न स्थानीय तहका लागि रु १० करोड ५७ लाख निकासा गरेको जनाएको छ ।

सो रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन खरीद गर्ने भएको बताइएको छ । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार प्रदेशका ४७ वटा स्थानीय तहले ३७ वटा एम्बुलेन्स, ६ वटा दमकल र ७ वटा शव वाहन खरीद गर्नका लागि अनुमति प्राप्त गरेका छन् भने रकमसमेत निकासा भएको छ ।

साधन खरीदका लागि स्थानीय तहहरुमा रु १० करोड ५७ लाख निकासा गरिएको र खरीद प्रक्रियासमेत शुरु भएको मन्त्री ढुंगेलले जानकारी दिए। प्रदेश ३ का ११९ वटै स्थानीय तहलाई सेवा मुलक सवारी खरीद गर्नका लागि प्रस्ताव आह्वान गरिएकोमा ४७ वटा स्थानीय तहको प्रस्ताव स्वीकृत भएको थियो ।