समाचार

१७ हजार सवारी साधन कारवाहीमा

काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटद्वारा दुईपाङ्ग्रे सवारी चालकका लागि आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविर आज यहाँ सम्पन्न भएको छ । कार्यालयको आयोजना तथा त्रिशूली अस्पतालको सहयोगमा ७५ जना दुईपाङ्ग्रे सवारी चालकले स्वास्थ्य परीक्षण गराएका थिए ।

परीक्षणमा १२ चालकलाई रक्तचाप र सात चालकलाई कलर भिजन (आँखाको समस्या) तथा अन्य चालक सामान्य रहेको प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताए । “सडक दुर्घटना रोक्न हामीले आफ्नातर्फबाट धेरै नै लागिपरिरहेका छौँ । ठाउँठाउँमा बिग्रेका बाटाको मर्मत सुधारका लागि सडक सम्बन्धित निकायसँग समन्वय गरी दुर्घटना रोक्न विभिन्न बिषयमा छलफल गरिरहेका छौँ ” उनले भने। उनले भने “हामीहरुले सडकमा बिभिन्न ट्राफिक सङकेत चिन्ह राखेका छौ ।

चारपाङग्रे देखि दुईपाङग्रे सवारी साधन धनी र चालकहरुलाई बेला, बेलामा शिविर, अन्य बिभिन्न प्रशिक्षण कार्याक्रम गरी रहेका छौ” ।
भट्टराईका अनुसार चालु आव चैतसम्मको सडक दुर्घटनाको तथ्याङ्क हेर्दा ट्रक नौ, ट्रिपर, बस, माइक्रोबस र ट्रयाक्टर एक एक, कार र जीप दुई तथा मोटरसाईकल सात गरी २२ सवारी साधन दुर्घटनामा परेको छ । त्यस्तै चैतसम्म सवारी दुर्घटनामा परी मृत्यु हुनेमा पुरुष ३२, महिला पाँच तथा बालबालिका दुई छन् ।

त्यसैगरी २६ जना गम्भीर र १२ जना सामान्य घाइते भएका छन् । गत वर्ष सडक दुर्घटना २२, मृत्यु हुने २४, गम्भीर घाइते हुने १४ र सामान्य घाइते हुने ५२ रहेको ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनमा ट्रक १२, बस तीन, कार– जिप तीन, मोटरसाइकल सात र अन्य दुई रहेको बताइएको छ ।

सवारी साधनको रुट पर्मिट नभएका, ब्लुबुक फेल भएका, सवारी अनुमतिपत्र फेल भएका र नभएका गरी करीब सत्र हजार सवारी साधन कारवाहीमा रहेका छन् । तिनमाथि कारवाही हुँदा रु एक करोड १६ लाख १७ हजार राजस्व उठेको प्रहरी नायब निरीक्षक भट्टराईले बताए । भट्टराईका अनुसार गत आव २०७४÷७५ मा कारवाही परेका १९ हजार ९१३ सवारी साधनबाट रु एक करोड २५ लाख ५४ हजार राजस्व उठेको थियो ।