बाग्मती

दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताह शुरु

चितवन । सडक दुर्घटना न्यूनीकरणका लागि चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजदेखि सडक सुरक्षा सप्ताह २०७६ शुरु गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उक्त सप्ताह शुभारम्भ गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताए।

जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढेको हो भन्दै उनले चापलाई व्यवस्थापन गर्न सक्नु पनि महत्वपूर्ण हुने उल्लेख गरे । सप्ताहको पहिलो दिन आज नारायणगढको पुल्चोकदेखि चौबिस कोठीसम्म सरसफाइ, २४ गते दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना र्‍याली, २५ गते स्कुल कलेज सम्पर्क कार्यक्रम र सवारी चालक तथा परिचालकको स्वास्थ्य प्रशिक्षण, २६ गतेदेखि २८ गतेसम्म वडास्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तरक्रिया, २८ गते दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन र २९ गते समापन गरिने कार्यालयका नायब प्रहरी निरीक्षक कृष्णबहादुर ठकुरीले जानकारी दिए।