अन्तर्राष्ट्रिय

रुसी यात्रुबाहक बिमान दुर्घटना हुँदा ४० जनाको मृत्यु

मस्को । रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे १०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । बिमान अवतरण हुनासाथ बिमानमा ठूलो आगलागी भएको थियो ।

रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले बिमान दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको जानकारी दिए । तर स्वास्थ्यमन्त्री भेरोनिका भोर्टसोभाले ३८ जना बाँच्न सफल भएको बताउँदै मृत्यु हुनेको संख्या ४० मात्र रहेको बताएका छन् ।

भिडियो फुटेजमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर निस्कन तँछाडमछाड गरेको देखिन्थ्यो । शेरेमेट्येभो बिमानस्थलबाट उत्तरी शहर मरमान्स्कका लागि उडेको उक्त बिमान विमानमा प्राविधिक समस्या रहेको भन्दै शेरेमेट्येभो फर्किएको थियो । बिमानस्थलमा जबर्जस्ती उत्रनासाथ बिमानमा आगो लागेको थियो ।

सुपरजेट भनिने रुसी एसएसजे१०० दुई इन्जिनयुक्त जहाज हो । यो बिमान सन् २०११ देखि प्रयोगमा ल्याइएको थियो । यस बिमानको उत्पादक सुखोई सिभिल एयरक्र्याफ्टले आइतबार दुर्घटनाग्रस्त बिमानको गत अप्रिलको शुरुमै मर्मत गरिएको जनाएको छ । एरोफ्लोटले पाइलटहरुमा करिब एक हजार ४०० घण्टा बिमान उडाएको अनुभव रहेको बताएको छ ।

सोभियत सङ्घ युगको बिमानसेवा पुरानो भएपछि उड्डयनका क्षेत्रमा समस्या सामना गरेको रुसले एसएसजे१०० सिरिजका नयाँ बिमान विकास गरेको थियो । यही सिरिजका बिमानहरु रुस बाहेक आर्मेनीया र मेक्सिको समेतका अरु देशमा पनि प्रयोग भइरहेको छ ।