शिक्षा

पदस्थापनाका लागि गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा

काठमाडौँ । शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गत चैत ११ मा सरुवा रोक्न निर्देशन दिएको थियो ।

विभागका महानिर्देशक बाबुराम पौडेलले आन्तरिकतर्फको पदस्थापन र अवकाशका कारण कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन गर्न कठिनाइ भएको गुनासो आएपछि आइतबार सबै शिक्षा, विकास तथा समन्वय एकाइलाई पत्राचार गरी शिक्षक सरुवा फुकुवा गरेको जानकारी दिए । संविधानतः विद्यालय तहको शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवा केन्द्र सरकारको शिक्षा एकाइको स्वीकृतिमा हुँदै आएको छ ।

विभागले पदस्थापन सकिएपछि रिक्त रहन आएमा, खुला प्रतियोगितात्मक विज्ञापनमा समावेश नभएका पद किटान गरी त्यस्तो परीक्षामा असर नपर्ने र दरबन्दी कटौती नहुने अवस्थामा सरुवा गर्न निर्देशन दिइएको छ । सरुवा गर्दा आफ्नो जिल्लाभित्र र अन्तर जिल्लाको समान तहको रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत शिक्षकलाई सम्बन्धित स्थानीय तहको समन्वयमा प्रचलित ऐन, कानूनअनुसार गर्न सकिने पनि विभागले जनाएको छ । शिक्षक सरुवाका लागि सम्बन्धित दुवै विद्यालयको सहमति, स्थानीय तहको सिफारिस र समन्वय एकाइको स्वीकृति आवश्यक पर्छ ।