गण्डकी प्रदेश

लोपोन्मुख जाति कुसुन्डा: बालिकाको शैक्षिक-स्वास्थ्य सहयोग अभियान घोषणा

दमौली । अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा भएको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको हो ।

आइतबार दमौलीमा साभ नेपालका अध्यक्ष तुलसी प्रवासले सीमान्त कुसुण्डा सहयोग अभियानको औपचारिकरूपमा घोषणा गरे। नेपालकै अति लोपोन्मुख जातिको रूपमा रहेका राजामामा कुसुण्डाको गत वर्ष निधन भएको थियो । कुसुण्डा परिवारको आर्थिक अवस्था ज्यादै दयनीय रहेकाले सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान शुरु गरिएको उनले सो अवसरमा जानकारी दिए।

अभियानअन्तर्गत पहिलो सहयोग साभ नेपालले नै गरेको छ । साभ नेपालको तर्फबाट सहयोग अभियानमा रु १० हजार सहयोग गर्ने प्रवासले प्रतिबद्धता जनाए। उनका अनुसार अभियानका लागि देश तथा विदेशबाट समेत सहयोगको प्रतिबद्धता आएको छ । सीमान्तलाई कक्षा १२ सम्म पढाउने र उनको स्वास्थ्य उपचार खर्च सबै ब्यहोर्ने उद्देश्यले सहयोग अभियान घोषणा गरिएको हो । उनका अनुसार अभियानबाट सङ्कलित रकमले कोष बनाइनेछ ।

उक्त कोषबाट प्राप्त रकमले सीमान्तको शिक्षा र स्वास्थ्य उपचारमा खर्च गरिनेछ । उनले भने, “सिधै हातमा पैसा दिनेभन्दा पनि स्वास्थ्य र शिक्षामा लगानी गर्ने उद्देश्य हो । साथै चाडपर्वको समयमा चाडपर्व मनाउन समेत केही पैसा दिने योजना बनाएका छौँ ।” उनले अभियानबाट सङ्कलित रकमलाई पारदर्शी बनाउने समेत प्रतिबद्धता जनाए। सीमान्त व्यास नगरपालिका–१० डिहीगाउँस्थित शतिस बोर्डिङ स्कूलमा अध्ययनरत छिन् ।