राजनीति

काँग्रेसले ‘राष्ट्रिय जागरण’लाई सफल बनाउन गर्दैछ तीब्र संवाद र प्रशिक्षण

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको ‘राष्ट्रिय जागरण’ कार्यक्रमलाई सफल पार्न र सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीका उपसभापति एवं प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सङ्घीय संसद्मा रहेका काङ्ग्रेसका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । काँग्रेसले यही वैशाख २५ गतेदेखि मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणअन्तर्गतको एकमहिने कार्यक्रम प्रारम्भ गर्दैछ ।

बैठकले पार्टीका महाधिवेशन प्रतिनिधिको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम देशका सातवटै प्रदेशमा आयोजना गर्ने, सातवटै प्रदेशका पार्टीका प्रदेशसभा सदस्यका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।

त्यस्तै काङ्ग्रेसले आफ्नो पार्टीबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौँमा आयोजना गर्ने, पार्टीका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थालाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गराउने भएको छ ।

विदेशस्थित जनसम्पर्क समितिमा आबद्धलाई प्रशिक्षणको कार्यक्रम आयोजना गर्ने, सङ्घ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘काङ्ग्रेस मेला’ को आयोजना गरिने सचिव आचार्यले जानकारी दिए ।

बैठकले समसामयिक राष्ट्रिय विषय र अन्तर्राष्ट्रिय विषयका विचार–गोष्ठी÷छलफल, बहस, अन्तरक्रिया र अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । साथै नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, काङ्ग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन आदिको विषयमा जानकारी दिन र काङ्ग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन उमेर समूहअनुसार विशेष कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

पार्टीको विधानमा व्यवस्था भए बमोजिम काङ्ग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्नु पूर्वप्रशिक्षण लिएको हुनैपर्ने भएकोले सबै क्रियाशील सदस्यका लागि विभिन्न तह र चरणमा प्रशिक्षण कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।