राजनीति

दलाल र पूँजीवादलाई विस्थापन गर्नु आजको अपरिहार्यता- मन्त्री रावल

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले ‘माक्र्सवाद गतिशील समाज विज्ञान’ भएको बताएका छन् । काल माक्र्सको २०१ औँ जन्मदिनको अवसरमा कर्णाली खोज, अनुसन्धान तथा अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा उहाँले माक्र्सवादले मानव चिन्तनको उज्ज्वल र प्रगतिशील परम्परालाई आत्मसात् गरेको बताए ।

मन्त्री रावलले माक्र्सवादका प्रतिपादक तथा वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल माक्र्सको सान्दर्भिकतालाई कम्युनिष्टहरुले व्यवहारमा उतार्न नसकेको उल्लेख गर्दै दलाल र पूँजीवादलाई विस्थापन गर्नु आजको अपरिहार्यता रहेको बताए ।

नेकपाका केन्द्रीय सदस्य लक्ष्मी पोखरेलले कार्ल माक्र्स समाज विज्ञानका प्रणेता भएको बताउँदै माक्र्सवादको अध्ययन तथा प्रयोगबाट मात्र सामाजिक न्यायसहितको समुन्नत समाज निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गरे। सो अवसरमा मन्त्री रावलले कर्णाली खोज, अनुसन्धान तथा अध्ययन केन्द्रको मुखपत्र ‘कर्णाली बहस’ नामक पुस्तकको विमोचन पनि गरे ।