गण्डकी प्रदेश

पञ्चैबाजा संरक्षणमा रामपुरका युवा

बेझाड । गाउँघरमा पहिलेदेखि नै चलनचल्तीमा आएका पञ्चैबाजा पछिल्लो समय लोप हुँदै जान थालेपछि रामपुरका युवा संरक्षण अभियानमा जुटेका छन् । रामपुर नगरपालिका– ३ चनौलीस्थित लाङ्घाली सामुदायिक समाज सुधार केन्द्र संस्था गठन गरेर स्थानीय युवा पञ्चैबाजा संरक्षणमा जुटेका हुन् । विसं २०७४ मा प्रतिव्यक्ति रू पाँच सङ्कलन गरेर दश युवाले यो अभियान शुरु गरेका थिए ।

शुरुमा रू७० हजारको आठ थान बाजा खरीद गरेर गाउँमा पञ्चैबाजा बचाऊ अभियान शुरु गरिएको अध्यक्ष चित्रबहादुर सोमै बताउनुहुन्छ । “रामपुर क्षेत्रमा बाजा बजाउने संस्कृति लोप भइसकेको अवस्थामा कला र संस्कृतिको संरक्षण गर्नका लागि उक्त बाजा संरक्षण अभियानमा जुटेका हौँ” उहाँले भन्नुभयो । गाउँघरमा हुने विवाह, चाडपर्व र अन्य कार्यक्रममा हिजोआज बाजाको माग बढिरहे पनि बजाउने जनशक्ति नहँुदा समस्या पनि उत्तिकै छ । पछिल्लो समय बाजा बज्नै छाडेपछि युवालाई साथ लिएर आफू पनि बाजा बजाउने कार्यमा जुटेको ५८ वर्षीय देवबहादुर दिसुवाको भनाइ छ ।

“पहिला पहिला त गाउँमा विवाह, पास्नी, न्वारन, विभिन्न कार्यक्रम हुँदा बाजा बजाएर नाचगान गरेर रमाइलो गरिन्थ्यो, पछि विस्तारै लोप हँुदै गएपछि पुरानो संस्कृति नै खल्बलिन थाल्यो” उहाँले भन्नुभयो । युवाहरुले कला र संस्कृतिको संरक्षण मात्र नगरी रकम पनि राम्रैसँग जुटाउँदै गएका छन् । बाजा बजाएर हालसम्म दुई लाख रकम सङ्कलन गरी संस्थाको कोषमा बचत गरिएको सदस्य यमबहादुर सारु बताउनुहुन्छ ।

गण्डकीवेशीका पाल्पा, स्याङ्जा, तनहुँलगायत विभिन्न स्थानमा पुगेर बाजा बजाउने कार्यमा सरिक हुँदै आएको मित्रलाल सोमै बताउनुहुन्छ । रामपुर नगरपालिका–३ को कार्यालयले युवाले संरक्षण अभियानका रुपमा थालनी गरेको पञ्चैबाजा जोगाउन रु ३० हजारका साथै बाजा बजाउने तालीमसमेत प्रदान गरेपछि हौसला मिलेको छ । संस्थामा हाल सहनाई, ट््याम्को, मादल, नरसिंहा, दमाहा, विकुललगायत ११ थरीका बाजा छन् । हाल यस संस्थामा १३० घरपरिवार आवद्ध छन् ।

यस अभियानले मौलिक पहिचान दिलाउने र संस्कृति पनि बचाउने हँुदा यसमा निरन्तरता दिने र अर्कोतर्फ युवालाई रोजगारी समेत सिर्जना गराउने रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल बताउनुहुन्छ ।“लोपोन्मुख अवस्थामा रहेका विभिन्न समुदायका कला र संस्कृतिको खोजी गर्दै संरक्षणमा नगरपालिका चासोका साथ लागेको छ” अर्यालले भन्नुभयो ।युवापुस्ताले चासो नदिँदा पञ्चैबाजा बजाउने प्रचलन अहिले लोप हुँदैगएको हो । परियार समुदायका व्यक्तिले बजाउँदै आएको पञ्चैबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण यहाँबाट लोप हँुदै जान थालेपछि भिन्न समुदायका युवा कला संस्कृति बचाऊ अभियानमा छन् ।

रामपुर नगरपालिका क्षेत्रमा एक दशकयता पञ्चैबाजा बजाउने चलन हट्दै गएको छ । बाउबाजेको पेशा तथा सीपलाई पछिल्ला पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको हो । परियार समुदायका युवापुस्ताले भने पञ्चैबाजाको भविश्य नभएकाले प्रतिष्ठा, पारिश्रमिकका लागि मात्र स्थानीयस्तरमा उक्त बाजा बजाएर संस्कृतिलाई निरन्तरता दिन नसकिने बताउँछन् ।

पछिल्लो समय परियार जातिले मात्र नभइ मगर समुदायलगायत विभिन्न समुदायका व्यक्ति बाजा बजाउने कार्यमा सरीक भए पनि यसले निरन्तरता पाउन भने अझै सकेको छैन । परियार समुदाय बाहेक अन्य समुदायका व्यक्तिले बजाउने गरेको बाजामा केही भिन्नता पाइने गरेको बुढापाका बताउँछन् । गाउँघरमा पञ्चैबाजाप्रति पहिलको जस्तो अहिले त्यही आकर्षण पनि देखिदैन ।