पर्यटन/संस्कृति

मातृभूमि चुलोप्रति बढ्दो आकर्षण

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाको पर्यटकीय क्षेत्र सत्यवतीमा मातृभूमि चुलोप्रति आकर्षण बढेको छ । समयको बचत, दाउराको कम प्रयोग, धुवाँ र धुलो कम उत्पादन हुँदा भान्सामा काम गर्ने महिला तथा पुरुषको स्वास्थ्यमा असर नगर्ने भएपछि स्थानीय बासिन्दा मातृभूमि चलोको प्रयोगप्रति आकर्षित बनेका हुन् ।

स्थानीयवासी दिलमाया थापाले मातृभूमि चुलोको प्रयोग खाना पकाउन सजिलो हुने बताए । भान्सामा खाना पकाउन थालेर अन्य काम गर्न सहज हुने देखेर यहाँका महिलाले मातृभूमि चुलोको प्रयोग गर्न थालेका हुन् । घरभित्र धुवाँ र धुलो कम निस्कँदा सफा रहने र भान्सा काम गर्नेहरुको स्वास्थ्यमा समेत असर नगर्ने हुँदा यहाँका महिला ओदानमा खाना पकाउन छाडेको स्थानीयवासी थापाको भनाइ छ ।

युएनडिपी, एसजिपी र जिइएफको सहयोग र स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्रको सञ्चालनमा सत्यवतीताल संरक्षण परियोजनाअन्तर्गत सत्यतवीको बस्तीमा सुधारिएको मातृभूमि चुलो बनाउन थालिएको हो । स्थानीयवासी पदमबहादुर सुनारीले खाना पकाउन भान्सामा बसिरहनुपर्ने बाध्यता हटेको बताए । दाउरा हालिरहनुपर्ने बाध्यता हटेकाले अन्य काम गर्नसमेत सजिलो हुन्छ, त्यसकारण यस भेगमा मातृभूमि चुलोको प्रयोग गर्ने बढेका छन् ।

लामो समयसम्म चुलो रहिरहँदा खाना पनि तातो नै हुन्छ । “मातृभूमि चुलोको प्रयोगले धुवाँ–धुलो बचियो, धुवाँ–धुलोकै कारण हुने स्वास्थ्य समस्याबाट भान्सेहरु जोगिएका छन्,” सुनारीले भने । स्थानीयवासी गङ्गा गाहाले सत्यवती क्षेत्रका अधिकांशका घरमा मातृभूमि चुलो प्रयोग गर्न माग बढेपछि राम्रो आम्दानी गर्न सफल भए । गाउँमा फुर्सुदको समयमा गाउँका घरघरमा पुगेर चुलो बनाउने मौका पाउँदा दुई–चार पैसाको अभाव छैन ।

“एउटा चुलो रु ५०० मा बनाउने गर्छु, गाउँका ६० घरपरिवारमा चुलो बनाइसकेका छौँ”, गाहाले भने, “स्वास्थ्यमा सुधार ल्याउनका लागि स्वास्थ्य सीपमूलक शौक्षिक विकास केन्द्रले चुलो बनाउने परिवारका लागि बर्नर, अन्य सामग्री र प्रशिक्षकलाई तालीम प्रदान गरेको थियो ।” सधैँका लागि चाहिने सीप पनि सिक्ने अवसर पाउँदा गाहा खुशी छन् ।

मातृभूमि चुलोका प्रयोगका कारण धुवाँ कम उत्पादन हुने र उत्पादित धुवाँलाई चिम्टीको सहायतामा घरबाट बाहिर पठाउन सकिने गर्दछ । बर्नरको साहायतामा खानालाई लामो समयसम्म तातो राख्दा पटक पटक आगो बाल्नुपर्ने झन्झट हटेको हो । बर्नरमा रहेका कोइला खरानी बनेपछि तल झर्छ, जसका कारण कोइला मात्र बाल्दा भाडा पनि फोहर नहुने गर्दछ । एकातर्फबाट दाउरा र अर्कोतर्फबाट खरानी झार्ने काम हुँदा मानिसहरु यस चुलोप्रति आकर्षित बनेका छन् ।

स्वास्थ्य सीपमूलक शौक्षिक विकास केन्द्रका रामबहादुर राउतका अनुसार सत्यवतीका ६० घरमा मातृभूमि चुलो बनेको बताए । संस्थाले दुई स्थानीय बासिन्दालाई चुलो बनाउनका लागि तीनदिने तालीम प्रदान गरेपछि गाउँमा मातृभूमि चुलो बनाउन थालेको संयोजक राउतको भनाइ छ । पाल्पाको तिनाउ गाउँपालिकाको सत्यवती क्षेत्र तालका कारण आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । आन्तरिक पर्यटकको आगमनसँगै यो क्षेत्र क्रमशः व्यवस्थित हुँदै गएको छ ।