राजनीति

समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण, डा भट्टराई र उपेन्द्रबिच हस्ताक्षर

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण हुने भएको छ । दुवै पार्टीबीच आज भएको छलफलले यही सोमबार (वैशाख २३ गते) एकीकरण घोषणा गर्ने समझदारी भएको हो ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । ‘केही समयदेखिको छलफल र विचार विमर्शपछि दुई पार्टीबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल निर्माण गर्ने ऐतिहासिक समझदारी भएको’ समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

समाजवादी पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।