लुम्बिनी

राजश्वमा छुट हुने भएपछि महिलाको नाममा भू–स्वामित्व बढ्दै

लमही । पछिल्लो समय महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला मालपोत कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनामा तीन हजार ८९९ महिलाको नाममा जग्गा दर्ता भएको पाइएको हो । महिलाको नाममा जग्गा दर्ता गर्दा राजश्वमा छुट हुने भएपछि पछिल्लो समय महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको कार्यालय प्रमुख नरेश खड्काले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षको चैतसम्म जम्मा सात हजार ६१२ को नाममा जग्गा पास भएकामा तीन हजार ८९९ महिलाको नाममा जग्गा दर्ता भएको हो । साउनमा ३७७, भदौमा २९२, असोजमा ३४२, कात्तिकमा २९४, मङ्सिरमा ४५४, पुसमा ५७३, माघमा ४५१, फागुनमा ५१२ र चैतमा ६०४ महिलाले आफ्नो नाममा जग्गा पास गरेका थिए । महिलाको नाममा जग्गा पास गर्दा सरकारले २५ प्रतिशत छुट दिएका कारण पनि यो सङ्ख्यामा वृद्धि भएको उनले बताए ।

सकारको नयाँ नीतिले महिलाको स्वामित्वमा पैतृक सम्पत्ति तथा किनबेच सम्पत्ति जोड्न सहज बन्दै गएको हो । आर्थिक वर्ष २०७४÷७५ मा छ हजार १४ पुरुषको नाममा सम्पत्ति पास हुँदा पाँच हजार ८१९ महिलाको नाममा सम्पत्ति पास भएको थियो । आर्थिक वर्ष २०७५/७६ को साउनमा ३७७ महिलाको नाममा सम्पत्ति हस्तान्तरण, किनबेच तथा भागवण्डा हुँदा पुरुषको सङ्ख्या ३६७ छ । यसरी महिलाको नाममा जग्गा दर्ता हुँदा महिला हिंसा कमी हुने भएको महिला अधिकारकर्मी सुुष्मा लामिछानेले बताए।

“विगतमा पुरुषको नाममा जग्गा दर्ता हुँदा पुरुष हाबी हुने अवस्था थियो, यसले महिला हिंसा बढाएको थियो”, उनले भने, “अहिले महिलाले आफ्नै नाममा जग्गा दर्ता गर्न थालेपछि उनीहरू थप सशक्त बनेका छन् भने महिला हिंसामा पनि कमी आएको छ ।” सबै महिलाले यसरी नै जग्गाको स्वामित्व लिन थालेपछि महिला हिंसामा विस्तारै कमी हुँदै जाने उनको तर्क थियो । नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ६ मा सम्पत्तिमा महिलाको समान हक हुने कुरा उल्लेख छ । विगतमा अशिक्षा, जनचेतनाको अभाव र स्वयं महिला अग्रसरताको कमीका कारण उनीहरूको सम्पत्तिमा न्यून पहुँच रहेको थियो ।