सुदूरपश्चिम

३१ थान भरुवा बन्दुक प्रहरीलाई बुझाइयो

बाजुरा । अवैध हतियार बुझाउन सरकारले गरेको आग्रहअनुसार सर्वसाधारणले घरेलु प्रयोजनका लागि राखिएका ३१ थान भरुवा बन्दुक स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् ।

पछिल्लो दुई महीनामा मात्रै ३१ थान एकनाले भरुवा बन्दुक प्रहरी कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। जिल्लामा गत चैत १ गते सरकारले अवैध हातहतियार बुझाउन ३५ दिने सूचना जारी गरेको थियो । सर्वसाधारणले स्वस्फूर्त भरुवा बन्दुक प्रहरी कार्यालय, स्थानीय तहमा राखिएका इलाका प्रहरी चौकी र अस्थायी प्रहरी पोष्टमा बुझाएका हुन् ।

बुझाएकामध्ये २४ थान वैध र सात थान अवैध घरेलु भरुवा बन्दुक रहेका प्रहरी प्रमुख भाटले बताए । उनका अनुसार गौमुलबाट सात थान, धुलाचौर अस्थायी प्रहरी पोष्टबाट पाँच थान, बडिमालिका प्रहरी चौकीबाट तीन थान, जुड्डीबाट एक थान, डोगडी प्रहरी चौकीबाट चार थान, मैरेबाट दुई थान, टाँटेबाट एक थान र स्वामिकात्र्तिकबाट एक थान हतियार सङ्कलन गरिएको छ ।