गण्डकी प्रदेश

ऐतिहासिक ठुलीपोखरीको संरक्षण हुँदै

पर्वत । ऐतिहासिक पहिचान बोकेको नेपालकै ठूलो मानवनिर्मित पोखरीको संरक्षण गर्न शुरु गरिएको छ । कुश्मा नगरपालिका–१२ मा रहेको ऐतिहासिक ठुलीपोखरीको संरक्षणका लागि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रु २५ लाख विनियोजन गरिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको पहलमा उक्त रकम विनियोजन गरिएको हो । पानीको स्रोत र व्यवस्थापनको अभावमा पोखरी चुहिएर अस्तित्व नै सङ्कटमा पर्न थालेपछि संरक्षणका लागि स्थानीयवासीले चासो देखाएका थिए । चालू आर्थिक वर्षदेखि नै उक्त पोखरीको संरक्षणको काम शुरु हुने बताइएको छ ।

साविक ठुलीपोखरी गाविसको बीच भागमा रहेको उक्त पोखरी करीब सात रोपनी क्षेत्रफलमा फैलिएको छ । एक सय वर्षभन्दा पहिले यो पोखरीको निर्माण गरिएको बताइन्छ । अहिले पोखरीबाट पानी चुहिने र वर्षायाममा समेत सुख्खा जस्तै हुने भएकाले संरक्षणको काम थालिएको ठुलीपोखरीका वडाध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार प्रदेशबाट विनियोजन भएको रकमले यसै आर्थिक वर्षभित्र अधिकांश काम सम्पन्न गर्ने तयारी गरिएको छ ।

पोखरी संरक्षणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत काम हुने भएको छ । उक्त पोखरीमा वर्षायाममा दुई महीनामात्रै पानी भरिने र बाँकी १० महीना सुख्खा हुने गरेको छ । अबदेखि पोखरीमा बाह्रैमास पानी भरिराख्ने, पोखरीको बीचमा मन्दिर निर्माण गर्ने र डुङ्गा सञ्चालन गरी पर्यटकीय हिसाबले विकास गर्ने योजना रहेको वडाध्यक्ष पौडेलले जानकारी दिए।

पोखरीको चारै भागमा प्लाष्टर गरी पानी चुहिनबाट रोक्नुका साथै यसलाई स्थानीयवासीको आयआर्जनसँग जोड्ने लक्ष्य रहेको स्थानीय ढाकाराम सापकोटाले बताए। जिल्लाकै पहिचानसँग जोडिएको यो पोखरीको संरक्षण भएमा ऐतिहासिकता र मौलिकता कायम हुने स्थानीयवासीको अपेक्षा छ ।

डिमुवा–राम्जा सडक कालोपत्र

छ महीना पहिलेदेखि अलपत्र अवस्थामा रहेको डिमुवादेखि राम्जा चित्रे जोड्ने डिमुवा–राम्जा सडक कालोपत्र गर्ने कार्य सञ्चालन भएको छ । पर्वतको दोस्रो व्यापारिक केन्द्र तिलाहार गाविसको डिमुवादेखि राम्जासम्म जोड्ने सडक कालोपत्र गर्ने काम कार्यान्वयन गर्ने निकायको टुङ्गो नहुँदा गत कात्तिकदेखि अलपत्र थियो ।

पूर्वाधार विकास कार्यालयका अनुसार डिमुवा–राम्जा सडकमा सात किलोमिटर पक्की गर्ने काम सञ्चालन भएको छ । सडक डिभिजनअन्तर्गत रहेको सडक कार्यान्वयन गर्ने निकायको टुङ्गो नहुँदा काम रोकिएको थियो । “अहिले सडक प्रदेश मातहतमा आएपछि निर्माण व्यवसायीको म्याद थपेर कालोपत्र गर्ने कार्य सञ्चालन गरिएको छ” कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर दयाराम अधिकारीले भने, “असोजसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणकार्य शुरु भएको छ ।”

विसं २०७३ मङ्सिर २४ बाट निर्माणकार्य शुरु भए पनि तीन तहका निर्वाचनका कारण पनि सडक निर्माणले गति लिएको थिएन । सडक निर्माण पूरै रोकिएको अवस्थामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विशेष पहलपछि सडक निर्माणकार्य सञ्चालन भएको बताइएको छ । सडक निर्माणका लागि गजुरमुखी निर्माण सेवाले काम गर्दै आएको छ । अहिलेसम्म सडक चक्लाबन्दी गर्ने, टेवा पर्खाल लगाउने काम सम्पन्न भएको र केही स्थानमा जाली भर्ने र पर्खाल लगाउने काम बाँकी रहेको निर्माण कम्पनीका साइड इन्चार्ज हरि केसीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म ६५ प्रतिशत काम सकिएको छ । उक्त सडक कालोपत्र भएपछि जिल्लाका तिलहार, राम्जा, चित्रे तथा कुश्मा नगरपालिकाको ११ नं वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक कालोपत्र भएपछि पर्यटकीयस्थल पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटक तथा घरबास सञ्चालन भएको चित्रे पुग्नलाई सहज हुने भएको छ ।