लुम्बिनी

खरको छानोरहित अभियान, खरको छानो हटेपछिको खुशी

बेझाड । रामपुर नगरपालिका–९ जब्गादी बस्ने शान्ति विकलाई चुहिने खरको छानोमा ओत लाग्नुबाहेक अरु विकल्प छैन । सानो झुप्रो त्यही पनि खरको छानो पानी पर्दा चुहेर घरभित्रै पानीको आहाल पर्छ ।

चुहिने खरको छानोमुनि बसेर कष्टकर रुपमा छ जना छोराछोरीको साथमा जीवन व्यतीत गर्दै आएकी छन् । वर्षायाम शुरु भएपछि उनको परिवारमा घर चुहिने समस्याले निकै पिरलो पारिरहेको हुन्थ्यो । रामपुर नगरपालिकाले उनलाई जस्तापाता सहयोग गरेपछि परिवारमा खुशीयाली छाएको छ । नगरपालिकाले खरको छानो हटाएर जस्तापाता लगाउन उनलाई आठ फुटे २४ वटा जस्तापाता सहयोग गरेपछि विकको मुहारमा खुशी छाएको छ ।

“वर्षायाममा चुहिने खरको छानोभित्र सानासाना बालबच्चा लिएर कष्टसँग जीवन बिताए, अब चुहिने खरका छानामुनि बस्ने दिन गए, जस्तापाता लगाएर वर्षायाममा आनन्दसँग बसोबास गर्ने दिन आए”, उनले भनिन् । विकको मात्र होइन रामपुर नगरपालिका–१ बार्दाकोट बस्ने सलिना खाम्चाको पनि अवस्था उस्तै छ । उनले पनि अहिलेसम्म चुहिने खरको छानामुनि नै रात बिताईन् । खरको छानोको ठाउँमा नगरपालिकाले उनलाई आठ फुटे २६ जस्तापाता सहयोग गरेपछि खुशी भएकी छन्।

“घरमा जस्तापाता छाउन सक्ने अवस्था थिएन, चुहिने खरको छानोमुनि नै दिनरात बिताइयो, अब वर्षायाम कसरी जाला ओत कहाँ लाग्ने हो भन्ने पिरलो भएन”, खाम्चाले भनिन् । रामपुर नगरपालिका–९ जब्गादीकै देवबहादुर सोमैले धमाधम खरको छानो हटाएर जस्तापाता लगाउन शुरु गरेका छन्। नगरपालिकाले उनलाई आठ फुटे २९ पाता उपलब्ध गराएपछि घर छाउने काम शुरु गरेका छन् ।

उनीहरु त प्रतिनिधि पात्र छन् । धेरै विपन्न दलित घरपरिवारमा नगरपालिकाले खरको छानो हटाएर जस्तापाता सहयोग गरेपछि परिवारमा खुशीयाली छाएको छ । पाँच वर्षभित्र रामपुर नगरपालिकालाई खरको छानोरहित नगर घोषणा गर्ने कार्यक्रमअनुसार जस्तापाता सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । गत वर्ष मात्रै १४८ घरधुरीलाई जस्तापाता वितरण गरिएको थियो ।

यस आर्थिक वर्षको हालसम्ममा १०० घरधुरीलाई जस्तापाता वितरण गरिसकेको खरको छानारहित कार्यक्रम संयोजक तथा रामपुर नगरपालिका ७ का वडाअध्यक्ष तीर्थप्रसाद पङ्गेनी बताउँछन् । “अघिल्लो वर्ष र यस वर्ष ५०/५० लाख रकम नगरपालिकाले विनियोजन गरी जस्तापाता वितरण गरिरहेका छौँ”, उनले भने । सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् ।

स्थानीयले नगरपालिकामा पेश गरेको निवेदनको आधारमा क्रमैसँग जस्तापाता उपलब्ध गराउने कार्य भइरहेको छ । खरको छानोरहित नगर कार्यक्रममा करीब ७५० घरधुरीले आवेदन पेश गरेका छन् । सङ्कलित निवेदनको आधारमा प्राविधिकसहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँ गाउँमा पुगेर अनुगमनपश्चात् प्राविधिक अध्ययन गरी जस्तापाता वितरण गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताए ।

“मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर, जस्तापाता छाउने तयारी गरेपछि एक घरधुरीलाई रु २५ हजारदेखि ४० हजारसम्मको अनुदानस्वरुप जस्तापाता उपलब्ध गराउँदै आएका छौँ”, उनले भने । अझै पनि यहाँका नगरवासी आर्थिक अभावले खरका छानामुनि बसेर जीविका चलाउँदै आइरहेका छन् । नयाँ संरचना कायम भई नगरपालिकाका जनप्रतिनिधिले शुरु गरेको यो कार्यक्रमबाट यहाँका नगरवासी उत्साहित बनेका छन् ।