खेलकुद

मेयरकप पुरुष भलिबल प्रतियोगिता शुरु

भीमदत्तनगर । कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशस्तरीय मेयरकप पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । भीमदत्त नगरपालिकाले आयोजन गरेको उक्त प्रतियोगिताको उद्घाटन प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गरे ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तहबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको बताए । सो अवसरमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई रु पाँच हजार, रजत जित्नेलाई रु तीन हजार तथा कास्य जित्नेलाई रु दुई हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा १५ स्थानीय तहको सहभागिता छ । पहिलो हुनेलाई रु एक लाख ११ हजार १११, द्वितीयलाई रु ७५ हजार १११, तृतीयलाई रु ५१ हजार १११ तथा सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिने भीमदत्त नगरपालिकाका नगरप्रमुख विष्टले जानकारी दिए ।