राजनीति

राष्ट्रपति भण्डारीद्वारा आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा) को आजको संयुक्त बैठकमा उनले अपराह्न १६ः१० मा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

सरकारले निर्वाचनको समयमा जनतासामु कवल गरेअनुरुप चुनावी घोषणपत्रका आधारमा नीति तथा कार्यक्रम बनाउने गर्दै आएको छ । राष्ट्रपति भण्डारीलाई संसद् भवन नयाँ बानेश्वरमा पुग्दाँ सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल एवं सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले स्वागत गरेका थिए । संसद् बैठक १६ बजेर ८ मिनेटमा शुरु भएको थियो ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनसमेत सङ्घीय संसद् भवनमा उपस्थित छन् । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारद प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रमका लागि सङ्घीय संसद् भवन सिँगारिएको छ । चारैतिर नेपाली झण्डा हराइएको छ । सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । सङ्घीय संसद् भवनको अगाडिको पानीको फोहोरा चलाएर आकर्षक तुल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रती राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । सरकारको नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि स्वदेशी तथा विदेशी सञ्चारमाध्यम नयाँ बानेश्वरमा उपस्थित भएका छन् ।