अन्तर्राष्ट्रिय

“लोया जिर्गा”द्वारा स्थायी युद्धबिरामका लागि आग्रह

काबुल । अफगानिस्तानको काबुलमा सम्पन्न ऐतिहासिक “लोया जिर्गा” (विशेष परिषद) बैठकले तत्कालै स्थायी युद्धबिराम गर्न आह्वान गरेको छ । राष्ट्रपति अश्रफ घानीले परिषदको आह्वानलाई शर्तसहित कार्यान्वयन गर्ने बताएका छन् ।

यसै साता बसेको लोया जिर्गा बैठकमा अफगानिस्तानका करिब तीन हजार २०० प्रतिनिधि सहभागी थिए । बैठकमा धार्मिक तथा आदिवासी नेताहरु, राजनीतिक नेताहरु र दलका प्रतिनिधिहरुको उपस्थिति थियो । करिब १८ वर्षदेखि जारी हिंसात्मक युद्धलाई शान्तिपूर्ण समाधान खोज्ने उद्देश्यले लोया जिर्गा आयोजना गरिएको थियो ।

बैठकपछि जारी घोषणापत्रमा अफगानिस्तान सरकार र तालिबान आन्दोलनले तत्कालै स्थायी युद्धबिराम घोषणा गर्न आग्रह गरिएको छ । घोषणामा युद्धबिराम इस्लाम धर्म अनुसार पवित्र महिना रमादानदेखि शुरु गर्न पनि सुझाइएको छ ।

अफगान राष्ट्रपति अश्रफ घानीले आफू युद्धबिरामको निष्पक्ष र बैधानिक माग कार्यान्वयनमा सदैब तत्पर रहेको बताउँदै यो एक पक्षीय हुन नसक्ने स्पष्ट गरे । “यदि तालिबान समूह युद्धबिरामका लागि पूर्ण रुपमा तयार हो भने हामी अरु प्राविधिक विषयमा कुराकानी गर्न सक्छौं,” घानीले बताए ।

लोया जिर्गाको घोषणापत्रका बारेमा तालिबान समूहले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । तालिबानी समूह यतिखेर कतारमा अमेरिकी शान्तिदूत जाल्मे खलिलजादसँग वार्तामा छ । विद्रोही तालिबान समूहले राष्ट्रपति घानीसँग वार्ता गर्न पनि अस्वीकार गरिरहेको छ ।

गत वर्ष तालिबानले रमादान महिनाको अन्त्यतिर तीन दिन युद्धबिराम घोषणा गरेको थियो । राष्ट्रपति घानीले पनि सरकारका तर्फबाट आठ दिनका लागि एकपक्षीय युद्धबिराम घोषणा गरेका थिए । अमेरिकी सैनिक हस्तक्षेप भएको सन् २००१ पछि पहिलोपटक भएको उक्त युद्धबिरामप्रति आमजनताले खुशी प्रकट गरेका थिए ।