प्रदेश 2

हाटबजारका लागि नयाँ भवन निर्माण हुँदै

राजविराज । गुणस्तरीय र व्यवस्थित हाटबजारका लागि जिल्ला सदरमुकाममा नयाँ भवन निर्माण भइरहेको छ । करीब रू ३५ करोड, ४५ लाख ३० हजार ६२० को लागतमा निर्माण भइरहेको सो भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताए । उक्त नगरपालिकामा अवस्थित हाटबजारलाई व्यवस्थित गर्न नयाँ भवन निर्माण गरी व्यवस्थित ढङ्गले हाट बजार सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

रसुवा रोशन कन्ट्रक्सन प्रालीले ठेक्का लिएको उक्त भवन तीन वर्षभित्र निर्माण गरिने नगरपालिकाले जनाएको छ । नगरप्रमुख यादवले हाटबजारको नयाँ भवन बनाउने कार्य करीब ५० प्रतिशत सकिएको जानकारी दिँदै आफ्नो कार्यकालसम्ममा यो बजारलाई गुणस्तरीय र व्यवस्थित बनाएर छाड्ने विश्वास दिलाए । नयाँ भवन बनाउन थालिएकाले अहिले पुरानो हाटबजार क्षेत्रमा लाग्ने तरकारी बजारलाई पश्चिमतर्फ पुरानो माछा हाटमा लगाइएको छ ।

यसअघि लाग्ने माछा हाटलाई वडा नं ४ स्थित नगरपालिकाकै स्वामित्वमा रहेको खाली स्थानमा टहरा बनाएर उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । हाल हाटबजारमा मानिसलाई जन्मदेखि मरणसम्मका लागि चाहिने सम्पूर्ण सामग्रीका साथै खाद्यान्न, ताजा तरकारी, फेन्सी सामग्री, औषधि, सियो, धागोदेखि नून, तेलसम्म पाउने गरेको छ । भारतको गुलाबी शहरको नामले प्रख्यात जयपुर शहरको नक्शामा आधारित राजविराज बजारलाई टाउन प्लानिङ गरी विसं २०१६ मा स्थापना गरिएको थियो ।