समाचार

प्रेसलाई कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव छैन

रुपन्देही । प्रेसलाइ कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव नभएकामा जोड दिइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले राजनीतिक र सामाजिक परिवर्तनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रेस कमजोर भए लोकतन्त्र र सङ्घीयता संस्थागत हुन नसक्ने भएकाले स्वतन्त्र प्रेस बनाउन प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । प्रदेशसभाका सदस्य विष्णु पन्थीले चौथो अङ्ग बलियो हुँदा सरकारलाई नै फाइदा हुने भएकाले मिडियालाई कुण्ठित गर्न नहुने धारणा राखे । प्रदेशसभा सदस्य रमा अर्याल र फकरुद्धिन खाँनले सरकारले प्रेसमाथि हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाए ।

कार्यक्रममा नेकपाका नेता युवराज घिमिरेले पीडितको पहिलो अदालत प्रेस भएकाले प्रेस स्वतन्त्र र जवाफदेही हुनुपर्ने बताए । नेपाली काङ्ग्रेसका नेता युवराज गिरीले वर्तमान सरकारका काम कारवाही मिडियामैत्री नरहेको आरोप लगाए । राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले प्रदेशमा बनेको प्रसारण ऐनले प्रेसलाई कुण्ठित गर्ने काम गरेको बताए । पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले विभिन्न बहानामा प्रेसमाथि अङ्कुश लगाउने काम भएकाले पत्रकारलाई मान्य नहुने बताए ।

समाचार लेखेकै कारण पत्रकारको परिवार असुरक्षित भएको बताउँदै उहाँले पत्रकारमाथि भएका आक्रण र दुव्र्यवहारका घटनाले सङ्घ र प्रदेशसभामा प्रवेश नपाउनु विडम्बना भएको बताए । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले जनताको विचार सही ढङ्गले प्रस्तुत गर्ने काम मिडियाले मात्रै गर्नसक्ने भएकाले मिडियालाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्ने बताए । अधिकारकर्मी तथा पत्रकार विनोद पहाडीेले पदमा पुगेपछि राजनीतिक नेतृत्व निरङ्कुश बनेको आरोप लगाए ।