समाचार

उपत्यकासहित मध्य क्षेत्रमा केहीबेरपछि हावाहुरीसहित चट्याङ पर्ने सम्भावना

काठमाण्डौ ( काठमाण्डौसहित मध्य क्षेत्रमा केहीबेरपछि हावाहुरीसहित चट्याङ पर्ने मौसमविद्ले अनुमान गरेका छन् । बिहान रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारेको पश्चिमी न्यूनचापिय प्राणाली अहिले पूर्वतिर सरिरहेको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

यसकै प्रभावले अहिले भैरहवा, चितवनलगायतका ठाउँमा हावाहुरीसहित चट्याङ परिरहेको उनको भनाइ छ । उनका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले उपत्यकासहित मध्य क्षेत्रमा केहीबेरपछि हावाहुरीसहित चट्याङ पर्ने सम्भावना छ ।

यो चक्रवात नेपालमा नआउने भए पनि यसको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविदले सुझाव दिएका छन् । मौसमविद् विभूति पोख्रेलका अनुसार आज देशभरी कै मौसम पूर्व रुपमा खुल्ने संभावना कम छ । पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हावाहुरी, चट्याङसहित हिमपात हुने सम्भावना छ । फानीको प्रभाव पर्सी दिउँसोसम्म नै पर्ने देखिएको छ ।

यस्तै बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यो चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसको प्रभाव विस्तारै बढ्दै जानेछ ।