कर्णाली प्रदेश

कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि- मन्त्री केसी

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताएकी छन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन कार्य क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत रहेकी केसीले प्राङ्गारिक कृषिका माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताइन् ।

प्रदेश सरकारले आगामी आवदेखि प्रदेशका गरीब किसानको जीवनस्तर माथि उठ्ने कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो । मन्त्री केसीले वास्तविक कृषकको सुझाव लिएर प्रदेशको कृषि नीति बनाउने र त्यसैको आधारमा बजेट तथा कार्यक्रम निर्माण हुने विश्वास दिलाइन् । आगामी दिनमा गरीब किसानले प्राप्त गर्नसक्ने अनुदानको कार्यक्रम सञ्चालन गरिने उनले बताइन्।