समाचार

प्राधिकरणमा नेकपा निकट कर्मचारी यूनियन विजयी, मतदातालाई दियो धन्यबाद

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा आज भएको आधिकारीक ट्रेड यूनियनको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको राष्ट्रिय कर्मचारी युनियन विजयी भएको छ ।

युनियनले चार हजार ७२७ मत प्राप्त गरेको छ । यस्तै निकत्तम प्रतिद्वन्द्वी कर्मचारी सङ्घले तीन हजार ३८९ मत प्राप्त गरेको छ । युनियनले एक हजार ३३८ मतको फरकमा विजय हासिल गरेको हो । यस्तै कर्मचारी कल्याण परिषद्ले १३६ मत प्राप्त गरेको छ ।

प्राधिकरणको देशैभरका सबै कार्यालयमा आज मतदान भएको थियो । निर्वाचनमा विजयी भएपछि युनियनका संयोजक रामेश्वर पौडेलले आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा मत दिने सबैलाई धन्यवाद दिएका छन् । उनले आगामी दिनमा युनियनका तर्फबाट गरिएका प्रतिबद्धता पूरा गर्न व्यवस्थापन, सहकर्मी ट्रेड यूनियन र सम्पूर्ण कर्मचारीसँग आवश्यक सहयोगको अपेक्षा राखेको र सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा विजयी भएपछि युनियनका सहसंयोजक खगेन्द्र शाहीले प्राधिकरणलाई थप सबल र सक्षम संस्थाको रुपमा अगाडि बढाउन रचनात्मक सहयोग गर्ने बताए । उनले प्राधिकरणलाई गर्व गर्न लायक संस्था बनाउने र त्यसका लागि व्यवस्थापनको सकारात्मक कामलाई सधैँ सहयोग गर्ने र नकारात्मक कामको विरोध गर्ने बताए ।