प्रदेश 2

मेडिकल कलेजको कार्यालय खुलेपछि बर्दिवासवासी उत्साहित

बर्दिवास । महोत्तरीको बर्दिवासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय स्थापना भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।  बर्दिवास नगरपालिका–१ स्थित बुधबार मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय सञ्चालन भएसँगै स्थानीयवासी उत्साहित भएका हुन् । उक्त कार्यालय बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुभारम्भ गरेका थिए।

“अब बर्दिवासमा मेडिकल कलेज बन्छ भन्ने विश्वास जागेको छ”, स्थानीय जनता माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा बर्दिवास–१ का लीलाविक्रम थापा भने, “कलेजको पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय, सरकार र विश्वविद्यालयबीच राम्रो समन्वय हुनसके कलेज चाँडै सञ्चालन हुनसक्छ ।” मेडिकल कलेजसम्बन्धी कामले गति लिएपछि बर्दिवास मुलुककै शैक्षिक गन्तव्य बन्नसक्ने आश जागेको उनको भनाइ छ ।

यसअघि बर्दिवास–६ मा कृषि सङ्कायको स्नातकतहसम्म अध्ययन/अध्यापन हुने भएकामा प्राकृतिक स्रोत व्यवस्थापन कलेजको पठनपाठन यसै वर्ष शुरु भइसकेको छ । यसैगरी बर्दिवास–१ को देउराली माध्यमिक विद्यालयमा वनविज्ञान बिषय, बर्दिवास–३ गौरीडाँडास्थित जनता माविमा पशुविज्ञान, बर्दिवास–६ चौलिखास्थित जनहित नन्दलाल माविमा सिभिल इञ्जिनीयरिङ तथा बर्दिवास–११ खयरमारास्थित निर्मल लामा प्राविधिक शिक्षालयमा सिभिल इञ्जिनीयरिङ र नापीसम्बन्धी डिप्लो (स्नातक) तहको पठनपाठन हुँदै आएका छन् ।

बर्दिवास–१४ स्थित बर्दिवास जनता बहुमुखी क्याम्पसमा भर्खरै स्नातकोत्तर तहको पठनपाठन शुरु भएकाले यहाँका बासिन्दाले आफ्नो क्षेत्र शैक्षिक गन्तव्य बन्दै गएको बताउने गरेका छन् । आफ्नो नगरमा सञ्चालन हुने विभिन्न विषयका कलेजमा अब देशविदेशका विद्यार्थी उच्च शिक्षा पढ्न आउने र आफ्नो ठाउँ शिक्षासँग जोडिएर चिनिने कुराले निकै उत्साह बढाएको बर्दिवास–२ बुद्धचोककी बासिन्दा स्नातक तहकी छात्रा मीना पौडेल बताउँछन्।

यस्तै यहाँका राजनीतिक र सामाजिक कार्यकर्ता पनि मेडिकल कलेजको काम अघि बढेपछि उत्साहित भएका छन् । “हामी प्रदेश नं २ को मध्येमा छौँ, पूर्वपश्चिम राजमार्ग, विपी राजमार्ग, बर्दिवास–जलेश्वर सडक र बर्दिवास–गौशाला–सम्सी सडकको सङ्गम यहीँ छ” तत्कालीन बर्दिवास गाविसका पूर्वअध्यक्ष चिरिञ्जीवी हमाल भन्छन्, “यी अनुकूलताबीच हामीले काम व्यवस्थित गर्न सक्यौँ भने शैक्षिक गन्तव्यले अन्य धेरै अवसर यहाँ सिर्जना हुनेछन् ।”

निर्माणाधीन पूर्वपश्चिम रेल र बर्दिवास–जयनगर रेलसेवाको मुख्य ‘स्टेशन’ यहीँ रहने कुराले बर्दिवासलाई शैक्षिक गन्तव्य बनाउने कुरामा थप बल मिल्ने उनको विश्वास छ । बर्दिवासवासीमा मेडिकल कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापनाको कुराले हौँस्याए पनि यो काम देखिन केही वर्ष लाग्नसक्ने उक्त आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीको भनाइ छ ।

“आयोजनाको कार्यालय त सञ्चालन भयो”, उनी भन्छन्, “अब कलेजका लागि संरचना निर्माणको गुरुयोजना, माटो परीक्षण (भौगोलिक परीक्षण), वातावरणीय प्रभाव मूल्याङ्कन, कलेज निर्माण हुने जग्गाको भोगाधिकार र त्यसपछि डिपिआरको चरण पार गरेपछि संरचना निर्माणको काम शुरु हुनेछ, यी प्रक्रिया पूरा गर्न ढिलै भएपनि दुई वर्ष लाग्नेछ ।” चालू आर्थिक वर्षमा सरकारबाट रु ८७ लाख र विश्वविद्यालय अनुदान कोषबाट रु १० करोड प्राप्त भएको र यसैबाट आयोजनाको काम अघि बढ्ने निर्देशक सुवेदीको भनाइ छ ।

सरकारले आर्थिक वर्ष २०७३/७४ मा प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने नीति बनाएअनुसार गत फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले कलेज स्थापनाका लागि कार्यालय खोल्ने सहमति दिएकाले अहिले कलेजसम्बन्धी काम अघि बढेको हो । सबै विधाको अध्ययन/अध्यापन हुने यस मेडिकल कलेजका लागि ३०० श्ययाको अस्पताल निर्माण गरिनुपर्ने निर्देशक सुवेदीको भनाइ छ । अस्पताल सञ्चालनमा नआएसम्म कलेज सञ्चालनको प्रक्रिया नबढ्ने भएकाले सरकार, विश्वविद्यालय मात्र नभएर स्थानीय तह र आम नागरिकले यसमा चासो बढाउनुपर्नेमा उनले जोड दिए।

कलेज स्थापनाका लागि आव २०७३/७४ मै बर्दिवास–४ मा भब्सी र अटाबे पुलबीच पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि ७५ रोपनी जग्गा उपलब्ध गराइएको थियो । त्यतिखेर शिक्षा मन्त्रालयले गठन गरेको जग्गा व्यवस्था समितिले सिफारिश गरेको जग्गा वन क्षेत्र परेकाले अहिले यसबारे अन्तिम निर्णय हुने प्रक्रियामा रहेको बर्दिवास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्की बताउँछन् । यसबाहेक मेडिकल कलेजका लागि बर्दिवास–२ मा जग्गाको थप व्यवस्था गरिने उनको भनाइ छ ।

बर्दिवास नगर क्षेत्रमा कृषि, पशुविज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक तहसम्मको र शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तरसम्मको पठनपाठन शुरु भइसकेको र चिकित्साशास्त्रको कलेज स्थापनाको काम अघि बढेपछि अब बर्दिवास सबैको शैक्षिक गन्तब्य बन्ने यहाँका बुद्धिजीवीको विश्वास छ ।