कर्णाली प्रदेश

सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक प्रभावित

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहुँदा समस्या भएको छ । नगरपालिकाले छ महीनादेखि सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेपछि सामाजिक सुरक्षाभत्तामा आश्रित ज्येष्ठ नागरिक प्रभावित हुन थालेका छन् ।

सामाजिक सुरक्षा भत्ता नपाएपछि आफूहरुलाई समस्या पर्न थालेको ज्येष्ठ नागरिकको भनाइ छ । वनगाड कुपिण्डे–५ चिउराका ८० वर्षीय पुरनसिंह नेपालीले आफूले त्यही भत्ताबाट नियमित औषधि किन्ने गरेकामा भत्ता नपाएपछि समस्या परेको बताए । “नगरपालिकाबाट आएको भत्ताले नियमित खाने औषधि किनेर खान्थे भत्ता नआएको छ महीना बितिसक्यो औषधि किन्ने एक पैसा छैन”, नेपालीले भने।

घरको दैनिक खर्च टार्दै आएकी वनगाड कुपिण्डे–४ चिउराकी विरमी कामीलाई पनि भत्ता नपाएपछि समस्या पर्न थालेको छ । “आम्दानीको अर्को कुनै स्रोत छैन, त्यही भत्ताले घरको खर्च टर्दै आएको थियो छ महीनासम्म नपाउँदा घर चलाउन गाह्रो हुनथालेको छ”, विरमीले भनिन् । अपाङ्गता भएका व्यक्ति वनगाड कुपिण्डे–५ राउचेका ठाकुर बुढाथोकीको पनि समस्या उस्तै छ । मासिक रु ६०० का दरले भत्ता पाउँदै आएका बुढाथोकीले नपाउँदा आफूलाई आवश्यक पर्ने सामान खरीद गर्न नपाएको दुखेसो पोखे ।

नगरपालिकाभित्रका दुई हजार ९७३ ले सामाजिक सुरक्षा भत्ता पाउँदै आएकामा यस आर्थिक वर्षको कात्तिकदेखि रकम उपलब्ध गराउन नसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि रकम निकासा नभएको वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले जानकारी दिए । “कार्यालय प्रमुख सरुवा भएर गएपछि रकम निकासा हुनसकेको थिएन, अब नयाँ आइसकेका छन् छिट्टै सामाजिक सुरक्षा भत्ता वितरण गर्छौँ”, पुनले भने।