बाग्मती

दुर्घटना न्यूनीकरण गर्न ‘सडक सुरक्षा सप्ताह’

भरतपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताह–२०७६ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही वैशाख २३ गतेदेखि २७ गतेसम्म सप्ताहव्यापीरूपमा कार्यक्रम गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख चन्द्र गिरीले जानकारी दिए । जिल्लामा दैनिकरुपमा सवारी दुर्घटनाबाट मानिसको ज्यान जान थालेपछि जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको उनले बताए।

सप्ताहलाई सफल बनाउन जिल्लाका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिबीच दैनिक छलफल गर्ने गरिएको छ । जिल्लाका सरोकारवालाले सप्ताहलाई सफल बनाउन प्रतिबद्धता जनाएका छन् । सप्ताहको पहिलो दिन वैशाख २३ गते अन्तक्र्रिया, २४ गते दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना र्‍याली, २५ गते स्कूल कलेजमा सचेतना कार्यक्रम र सवारी चालक परिचालकलाई प्रशिक्षण, २६ गतेदेखि २८ गतेसम्म वडास्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तक्र्रिया, २८ गते दीप प्रज्वलन र २९ गते समापन समारोह गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रमुख गिरीले जानकारी दिए ।

उनले सप्ताह सकिएपछि पनि वडास्तरमा निरन्तर सचेतना कार्यक्रम गरिने बताए । यो आर्थिक वर्षमा जिल्लामा १२८ को सवारी दुर्घटनाबाट मृत्यु भएको छ भने ४८० घाइते भएका छन् । यो अवधिमा २५० सवारी दुर्घटना भएका छन् ।