राजनीति

ओली सरकारले सर्वहाराको सरकार भनेर नारा लगायो तर मजदूरको काम शून्यः नेता सिंह

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मजदूरको क्षेत्रमा काम गर्न नसकेको बताएका छन् ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘श्रमिक सभामा उनले श्रमिकका लागि सुरक्षा कोष खडा गरेको सरकारले उक्त कोषलाई कार्यान्वयनमा लैजान नसकेको बताए । “सर्वहाराको सरकार भनेर नारा लगाउने सरकारले मजदूर र श्रमिकको हकमा काम गर्न सकेन”, उनले भने । नेता सिंहले मुलुकको परिवर्तनका लागि नेपालका श्रमिकको महत्वपूर्ण योगदान रहेको बताउँदै श्रमिकलाई राज्यले सम्मान गर्नुपर्ने बताए । सरकारले विकास बजेट जुन तरिकाले खर्च गर्नुपर्ने हो त्यो गर्न नसकेको उनको आरोप थियो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काङ्ग्रेस श्रमिकको पार्टी भएको बताए । “सरकारले श्रमको सम्मान गर्ने परिपाटी निर्माण गर्नुपर्छ”, उनले भने । प्रवक्ता शर्माले काङ्ग्रेसलाई बलियो बनाउन पार्टी र ट्रेड युनियन एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउँदै श्रम बजारलाई विस्तार गरेर विदेशीएको श्रम शक्तिलाई रोक्न ट्रेड युनियन काङ्ग्रेस लाग्नुपर्ने उल्लेख गरे ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय अध्यक्ष पुस्कर आचार्यले सामाजिक सुरक्षा कोषको अवधारणा काङ्ग्रेसले ल्याएको बताउँदै सरकारले उक्त कोषलाई आफूले ल्याएको भन्दै प्रचारबाजी गरेको बताए । नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेत, खिलानाथ दाहाललगायतले पार्टीले ट्रेड युनियनलाई बेवास्ता गरेको आरोप लगाए । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । नेपालमा भने विराटनगरको जुट मिलमा २००७ सालमा भएको मजदूर आन्दोलनसँगै मजदूर दिवस मनाउन थालिएको हो ।