अन्तर्राष्ट्रिय

जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण

टोकियो । जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हालेका छन् । उनी जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा भएका छन् ।

शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उनलाई मङ्गलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतिक, एउटा बहुमूल्य रत्न दिइएको थियो । उक्त समारोहमा पूर्व सम्राट अकिहितोको पनि उपस्थिति थियो । राजगद्दीमा आसिन भएपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै सम्राट नारुहितोले आफू बुबाकै पदचिह्नमा रहेर शान्तिका लागि कार्य गर्ने तथा जनताको सुखदुःखमा सधैँ साथ रहने वचनबद्धता प्रकट गरे।

विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मङ्गलबार मध्यरातमा “क्रिसेन्थिमम थ्रोन” नाम दिइएको विशिष्ट रुपमा सजाइएको राजगद्दीमा राखिएको थियो । उनका बुबा सम्राट अकिहितोले मङ्गलबार राजगद्दी त्याग्नु भएको थियो । जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो ।

“मैले विशेष जिम्मेवारी ग्रहण गरेको बारेमा सोच्दै गर्दा ममा गम्भीरताको अनुभूति भएको छ,” नारुहितोले भने। आफ्ना बुबाको शान्तिप्रतिको निष्ठाबारे टिप्पणी गर्दै नारुहिताले सम्राट अकिहितो र विगतका सम्राटहरुले कोरेको मार्गलाई आफूले गम्भीर रुपमा प्रतिबिम्बित गर्ने बताए। उनले जापानको संविधानप्रति पूर्ण बफादार रहने प्रतिबद्धता व्यक्त गरे। संविधान बमोजिम जापानी सम्राटलाई राजनीतिक अधिकार हुँदैन ।

तर जापानी राजतन्त्रले राष्ट्रिय प्रतिकका रुपमा जिम्मेवारी वहन गर्ने परम्परा छ । उनले भने, “म जनताको खुशी तथा मुलुकको विकासका साथै विश्व शान्तिका लागि पूर्ण इमान्दारीका साथ कार्य गर्नेछु ।” बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका नारुहितोलाई २८ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकारी घोषणा गरिएको थियो । उनको विवाह सन् १९९३ मा मासाकोसँग भएको थियो ।