बाग्मती

बुङ्मतिसम्मको ३० प्रतिशत सडक निर्माण सम्पन्न

काठमाडौँ । नख्खुखोलाबाट भैँसेपाटी हुँदै बुङ्मतिसम्मको सडक निर्माण ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । सर्वोच्च अदालतको सडक विस्तार रोक्न अन्तरिम आदेशले काम अवरुद्ध भएको हो ।

विसं २०७३ मा ठेक्का सम्झौता भएकामा अहिलेसम्म पनि काम सम्पन्न हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कतिपय स्थानमा सडक भत्काउन थालेको दुई तीन वर्ष हुँदासमेत कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलो हुने गरेको छ ।

निर्माणाधीन उक्त सडकमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले चिन्ह लगाउन ढिलाइ गरिरहेको सडक विस्तार आयोजनामा कार्यरत इञ्जिनीयर विश्वबिजयलाल श्रेष्ठले बताए । काठमाडौँ उपत्यकामा विस्तारित सडकमा सडक चिन्ह लगाउने जिम्मेवारी प्राधिकरण र निर्माण गर्ने जिम्मेवारी आयोजनाको हो ।

त्यस्तै, सडकमा विभिन्न संरचना हटाउन नसकिएको उनले बताए । उनले भने, “अझैसम्म विद्युत्, टेलिफोनका पोल र रुख हटाउन सकिएको छैन ।” स्थानीयवासीले पहिले घरको मात्रै मुआब्जा माग्ने गरेकामा अहिले जग्गाको समेत मुआब्जाको माग गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए ।

स्थानीय तहले आग्रह गर्दा पनि स्थानीयवासी मुआब्जा पूरै चाहिने अडान लिइरहेका उनले बताए । उनले भने, “जनप्रतिनिधिले चाहेर पनि सडक विस्तारको काम हुन सकिरहेको छैन ।” सो सडकको लम्बाइ पाँँच किलोमिटर छ । सडक निर्माणको ठेक्का आशिष बिरुवा सिएम जेभी र पप्पु महालक्ष्मी वल्र्डवाइड जेभि गरेर दुई ठेकेदार कम्पनीलाई दिइएको थियो । उपत्यकामा विस्तार हुन लागेका १२ सडकमध्येको यो सडक एक हो ।