अन्तर्राष्ट्रिय

खाद्य सहयोगका लागि रेडक्रससँग उत्तर कोरियाको आग्रह

सियोल । प्रतिकूल मौसमका कारण चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ ।

बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ । प्रतिवेदनमा सन् २०१४ देखि २०१७ सम्मको खडेरीले उत्तर कोरियामा चरम खाद्य सङ्कट उत्पन्न भएको जनाइएको छ ।

गत वर्ष चलेको तातो हावा र ज्यादै कम वर्षादका कारण समस्या अझ बढेको हो । उत्तर कोरियाली रेडक्रसको आग्रहमा अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (आइएफआरसी) ले उत्तर कोरियाका लागि विपद राहत आपतकालीन कोषका लागि अन्तर्राष्ट्रिय रुपमै आह्वान गर्ने तयारी भइरहेको आइएफआरसीले जनाएको छ ।

बाली भित्र्याउने आगामी सेप्टेम्बर महिना अघि नै उत्तर कोरियाली नागरिकलाई थप खाद्यान्नको जरुरत छ । तर ज्यादै कम वर्षा भएका कारण हिउँदे बालीको उत्पादन ज्यादै कम भएको छ । यसले छ महिना धान्न मुस्किल छ । प्रतिवेदनमा खाद्य असुरक्षाको अवस्थाले विकराल रुप लिने देखिइसकेको उल्लेख छ ।

सन् २०१८ मा उत्तर कोरियाको खाद्य उत्पादन ४९ लाख ५० हजार टन भएको थियो । यो विगत दशकमै सबैभन्दा कम उत्पादन हो । कूल जनसंख्याको करिब ४१ प्रतिशत जनतालाई खाद्यान्न अभाव रहेको र ५ वर्षभन्दा कम उमेरका बालबालिका पर्याप्त खानाको अभावमा स्वास्थ्य जोखिममा परेका छन् ।

आइएफआरसीले उत्तर कोरियाको खाद्यान्न स्थितिका बारेमा एक साताभित्रै प्रारम्भिक अध्ययन गर्ने जनाएको छ । उत्तर कोरियाले खाद्य तथा कृषि संगठन र विश्व खाद्य कार्यक्रम जस्ता विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था मार्फत खाद्यान्नका लागि आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिसकेको छ ।