उर्जा

रुपाकोट मझुवागढी नगरपालिकाको ४४ प्रतिशत घरधुरी विद्युत् सेवा बाहिर

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत् प्रसारण लाइन बाहिर रहेका छन् । जिल्लामा २०५८ सालमा केन्द्रीय विद्युत् प्रसारण भए पनि अहिलेसम्म नगरपालिकाभित्रका करीब दुई तिहाइअर्थात् ६६ प्रतिशत घरधुरीले मात्र केन्द्रीय विद्युत् उपभोग गरेका छन् ।

दश हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टितेलको टुकी प्रयोग गरिरहेका छन् । नगरपालिकाले तयार गरेको तथ्याङ्कअनुसार सात प्रतिशतले सोलार र एक प्रतिशतले बायोग्याँस प्रयोग गर्दै आएका छन् । पन्ध्र वटा वडा रहेको नगरपालिकाको वडा नम्बर १ र १५ मा शतप्रतिशत केन्द्रीय विद्युत् प्रसारण भएको नगरपालिकाले जनाएको छ । वडा नम्बर २ मा ९३, ३ मा ९६, ४ मा ९८, ५ मा ९८, ६ मा ९९, ७ मा ८५, ८ मा ९०, १३ मा ९८ प्रतिशत घरधुरीमा विद्युत् विस्तार भएको पाइएको छ ।

वडा नम्बर ९, १०, ११ र १२ मा अहिले विस्तारको काम भइरहेको जनाइएको छ । स्थानीय लघु जलविद्युत् प्रसारण लाइनबाट वडा नम्बर ९ मा १६, १० मा ६५, ११ मा ७० र १२ मा शतप्रतिशत विद्युत् पुगेको पाइएको छ । जिल्लामा केन्द्रीय विद्युत् विस्तार भएको १६ वर्ष बितिसक्दा पनि सबै वडामा विद्युत् सेवा नपुग्नुमा सम्बन्धित निकायको ध्यान नपुगेको उपभोक्ताको आरोप छ । विद्युत् विस्तार भएका ठाउँमा पनि नियमित सेवा नहुँदा उपभोक्ता हैरानीमा परेका छन् ।

आगामी दुई वर्षभित्र सबै वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गर्ने तयारीका साथ नगरपालिका अगाडि बढेको नगर उपप्रमुख वीणादेवी राईले बताए । “विद्युत् विस्तार नभएका ठाउँमा गत वर्षबाटै योजना सञ्चालन भइरहेको छ”, उनले भने, “आगामी दुई वर्षभित्र नगरभित्रका सबै वडामा काठेपोल मुक्त बनाउँदै सुरक्षित र सहजरुपमा विद्युत् उपभोग गर्ने वातावरण बनाउँछौँ ।” साप्सुखोलामा निर्माणाधीन सात दशमलव १५ मेगावाटको विद्युत्समेत दुई वर्षभित्र उत्पादन हुने भएकाले दुई वर्षपछि नगरपालिकाभित्र विद्युत् आपूर्ति बन्द नहुने नगरपालिकाले जनाएको छ ।