प्रदेश 1

लेप्चा भाषा पढाउन शिक्षक खोज्दै गाउँपालिका

इलाम । लोपोन्मुख लेप्चा जातिको संस्कृति र भाषा जोगाउन यहाँस्थित रोङ गाउँपालिकाले अब विद्यालयमा रोङ (लेप्चा जातिको मातृभाषा) भाषा पढाउने भएको छ । बोलीचालीमा मात्र प्रयोग हुने भाषालाई औपचारिक बनाउँदा पछिल्लो पुस्तामा समेत भाषाको ज्ञान बढ्ने भएकाले गाउँपालिकाले विद्यालयमा पढाउने तयारी थालेको हो ।

गाउँपालिकाले भाषा पढाउन पाठ्यक्रम तयारी शुरु गरे पनि शिक्षक अभाव भएपछि आउँदो वर्षदेखि मात्र शुरु गर्ने भएको हो । स्थानीयस्तरमा विद्यालय शिक्षाका लागि भाषाको शिक्षक अभाव हुँदा यस वर्ष पढाइ हुन नसकेको गाउँपालिका अध्यक्ष शमसेर राईले जानकारी दिए। स्थानीयस्तरमा भाषाको ज्ञान भएको शिक्षक नभएपछि गाउँपालिकाले भारतका लेप्चा समुदायको पहुँच भएको क्षेत्रबाट शिक्षक ल्याउने तयारी हुँदै रहेको अध्यक्ष राईको भनाइ छ ।

“हामी भारतीय क्षेत्र दार्जिलिङ, सिक्किमबाट भाषा बढाउने शिक्षक ल्याउँदैछौँ”, अध्यक्ष राईले भने, “कम्तीमा पनि १ देखि ५ कक्षासम्म पढाउन सक्ने भए हुन्छ शुरुमा ।” भारत भ्रमणका क्रममा भारतीय लेप्चा विद्यालयको बारेमा बुझेको र आफ्नो क्षेत्रमा समेत भाषा पढाउन सकिने बुझेपछि सो काम शुरु गरिएको अध्यक्ष राईले बताए। भारतमा लेप्चा भाषाकोे पाठ्यपुस्तक तयार भई उच्च तहसम्म अध्ययन भइरहेको छ ।

सङग्रहालय निर्माण शुरु

गाउँपालिकाले लेप्चाको संस्कृति जगेर्ना गर्न २० वर्षे कार्यनीतिक योजना निर्माण गरेको छ । गाउँपालिकाले योजनाअन्तर्गत सोही समयभित्र लेप्चा सङ्ग्रहालय र लेप्चा खाद्यान्नको होमस्टे (घरबास) समेत निर्माण गर्न लागेको छ । आउँदो पाँच वर्षभित्रमा सङ्ग्रहालय निर्माण सकिने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

“लेप्चाको सामग्री मात्रै राखेर सङ्ग्रहालय बनाउने काम त सहज छ तर हामी त्यो भन्दा व्यापक तरिकाले निर्माण गर्ने छौँ”, राईले भने, “सङ्ग्रहालय बनाउँदा उनीहरुको परम्परा नमर्ने र कस्तो वस्तु प्रयोग गर्दा सहज हुन्छ त्यसबारेमा विज्ञ टोलीसित छलफल गरेर हामी सङ्ग्रहालय निर्माणमा लाग्नेछौँ ।” रोङ गाउपालिकाको ६ वटै वडामा गरेर जम्मा २३४ घरधुरी लेप्चा परिवारको बसोबास रहेको छ ।

उनीहरुमध्ये २२४ घर बौद्ध धर्मावलम्बी र १० घर इसाई धर्म मान्ने गर्दछन् । तथ्याङ्कअनुसार रोङ गाउँपालिकामा ५३७ पुरुष र ५२३ महिला गरी लेप्चाको जनसङ्ख्या रहेको छ । नेपालमा कुल लेप्चाको जनसङ्ख्याको २८ दशमलव ९० प्रतिशत रोङ गाउँपालिकामा बसोबास रहेको तथ्याङ्कले देखाएको छ ।