समाचार

लाखौँ नेपाली न्यून पारिश्रमिक विदेशमा श्रम बेच्न बाध्य भइरहेका छन्ः सभामुख महरा

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले नेपालको संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको र सोही मर्मअनुसार सङ्घीय संसद्मा अहिले केही श्रमसम्बन्धी ऐन कानून निर्माणका क्रममा रहेको बताएका छन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवीलाई शुभकामना सन्देश व्यक्त गर्दै उनले श्रमिक वर्गका पक्षमा ऐनकानून निर्माण गर्नका साथै संविधानप्रदत्त हक कार्यान्वयन भएमा मात्रै साँचो अर्थमा मजदूरले अधिकार प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

श्रमिक दिवस मनाइरहँदा अहिले पनि लाखौँ नेपाली श्रमिक न्यून पारिश्रमिकमा विदेशमा श्रम बेच्न बाध्य भइरहेको बताउँदै उनले श्रमिक वर्गको हितका लागि स्वदेशमै प्रशस्त रोजगारीको सिर्जना गरी आफ्नै देशमा श्रम गर्ने वातावरण तयार गर्न र तिनलाई दक्ष, व्यावसायिक एवं सबल बनाउनतर्फ राज्यले ढिलाइ गर्न नहुने उल्लेख गरेका छन् ।

सो कार्यका लागि नीतिगत व्यवस्था तथा व्यावहारिक रुपमा कार्यान्वयनको पक्षलाई कडाइका साथ अघि बढाउन जरुरी भएको सन्देशमा उल्लेख छ ।