प्रदेश 2

मधेसी समुदायको समस्या समाधान हुने गरी आयोगले काम गर्छः डा दत्त

लहान । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेसी समुदायको समस्या समाधान हुने गरी आयोगले काम गर्ने बताएका छन् ।

मधेशी आयोगद्वारा मंगलबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष डा. दत्तले मधेसी समुदायको अधिकारका लागि आयोगले काम गर्ने बताए। मधेसी समुदायको पहिचान र स्वाभिमान बढाउने गरी काम गर्ने र राज्यका हरेक तहमा उचित सहभागिता पाउने वातावरण बनाउन आयोग लागिपर्ने उनले बताए।

मधेसीको पहिचान दिलाउनका लागि आयोगले व्यवस्थित रुपमा कामकाज गर्ने उल्लेख गर्दै अध्यक्ष दत्तले मधेसका जिल्लाको विकास निर्माण तथा अन्य विषयमा पनि सरकारलाई उचित राय तथा सुझाव पनि दिने बताए । मधेश आयोग स्थापनासँगै ऐन, कानूनको मस्यौदा तयार गरी प्रदेश आयोगको कार्यालय स्थापनाको तयारी भइरहेको उनले जानकारी दिए।