राजनीति

काँग्रेस र मजदूर सधैं एक अर्काका अनन्य सहयोगीः सभापति देउवा

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मे १ तारिख’ अर्थात् श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले आज शुभकामना सन्देशमार्फत यो दिवस श्रमिक वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्दै नेपालमा २००३ सालमा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको बताएका छन् ।
तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको उल्लेख गर्दै सभापति देउवाले नेपालमा प्रजातन्त्रको प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन भएको बताएका छन् । त्यसैले काँग्रेस र मजदूर सधैं एक अर्कामा आबद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको उनले उल्लेख गरेका छन् ।
“विसं २०१६ मा काँग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरलाई कानूनसम्मत अधिकार प्रदान गरेको हो । नेपाली काँग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याएको थियो”, शुभकामना सन्देशमा उल्लेख छ ।
आज पनि नेपालका श्रमिकले अनेक समस्या व्यहोर्नु परेको उल्लेख गर्दै सभापति देउवाले श्रमिकका समस्या समाधान गरी उनीहरुका हक र हितको सम्वद्र्धन गर्न काँग्रेस सदैव सचेत भएर लागिरहेको बताएका छन् । उनले लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने हुँदा लोकतन्त्रको रक्षा र सम्वद्र्धनमा सम्पूर्ण श्रमिक सजग र जिम्मेवार रहने विश्वास व्यक्त गरेका छन् ।