राजनीति

बालुवाटार सरकारी जग्गा व्यक्तीको नाममा ल्याउने जोसुकैलाई कारवाही गर्न काँग्रेसको चेतावनी

काठमाण्डौ ।प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा गम्भीर छानबीनका साथ मोलाहिजाबेगर दोषीमाथि कारवाहीको माग दोहो¥याएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सो प्रकरणको गहिरो छानबीन गरी दोषीलाई दण्डित गरिनुपनेमा जोड दिएका छन् ।
“बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसबीचमा तथ्य प्रमाणका साथ सार्वजनिक भइसकेको छ । दोषीलाई जोगाउने ढङ्गले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढङ्गले गरिने कर्म र प्रचारप्रति सजगताका लागि काङ्ग्रेस सबैमा अपिल गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता शर्माले तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कारवाहीका लागि नागरिकको सजगता, सञ्चारमाध्यमको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मीको इमानदारीसँगै प्रतिपक्षको दवाव र सरकारको इमान्दार विवेक यतिबेला परीक्षाको कसीमा रहेको उल्लेख गरेका छन् ।