कृषि

४० बिघा खेतमा सिँचाई सुविधा गर्नका लागि डिप ट्युवेलको माग

विराटनगर । प्रदेश नं १ को केही जिल्लामा भूमिगत जल सिँचाइका लागि डिप ट्युबेलको माग बढेको पाइएको छ । डिप ट्युबेल माग गर्ने जिल्लामा झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर छन् ।

एक डिप ट्युबेलबाट सजिलैसँग ४० बिघा खेतमा सिँचाई सुविधा गर्न सकिने र यसका लागि कुनै पनि समस्या किसानले व्यहोर्न नपर्ने भएकाले यसको माग बढेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र साहले बताए ।

डिप ट्युवेलका लागि प्रदेश नं १ को सरकारले रु छ करोड र सङ्घीय सरकारले रु पाँच करोड बजेट उपलब्ध गराएको प्रमुख साहले जानकारी दिए। उपलब्ध बजेटबाट झापामा ११ वटा योजना, सुनसरी र मोरङमा सात÷सात, इलाममा तीन तथा उदयपुरमा छ वटा योजना रहेका छन् । यी योजना सम्पन्न भएमा ५६० बिघा खेत जोत्ने किसानको मुहार हसिलो हुने अनुमान गरिएको छ । यी योजना सम्पन्न गर्न रु दुई करोड ५२ लाख बजेट अपुग देखिन्छ । एउटा डिप ट्युवेलका लागि करीब रु ८० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारको मातहतमा रहेको यो कार्यालयको कार्यविधि स्वीकृत नभएको बताए पनि अगामी दिनमा अधुरा र थप योजनाका काम गर्न रु ३५ करोड बजेट माग गरेको कार्यालय प्रमुख साहले बताए ।

उनले तीन हजार योजनाका लागि डिपिआर तयार गरिरहेको जानकारी दिए । कुलो, सिँचाइ सुविधा नपुगेको र आकाशे पानीको निर्भरमा रहने किसानलाई सबैभन्दा बढी ग्राहयतामा राखेर काम गरिरहेको कार्यालयले बताएको छ ।