कर्णाली प्रदेश

अनमी उच्च रक्तस्रावको चपेटामा

हुम्ला । चंखेली गाउँपालिका वडा नं ६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली गए राति २ बजेदेखि उच्च रक्तस्रावले थला परेका छन् । दाङ, घोराही उपमहानगरपालिका १५ स्थायी घर भएका ३५ वर्षीय अनमी नेपाली अत्यधिक रक्तस्रावले थला परेको हुनाले उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए ।

तीन महिना पहिले गर्भ खसेपछि औषधि गरेर आएका नेपाली रातिदेखि बिरामी भएर स्वास्थ्यचौकीमा छट्पटाइरहेको मेल्छाम स्वास्थ्यचौकीकी अनमी बेलसरा बुढाले जानकारी दिए ।

अनमी नेपाली रातिदेखि छट्पटाइरहेको खबर पाउनासाथ उद्धारका लागि पहल गरिएको ढकालले जानकारी दिए । नेपाली सेनाको हेलिकप्टर काठमाडौँबाट आउने तयारी भइरहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए । बिरामी नेपालीलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिने जनाइएको छ ।