बाग्मती

रसुवागढी नाकाबाट मानसरोवर यात्रा शुरू

रसुवा । रसुवागढी हुँदै चीनको भू–भागमा अवस्थित मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार मानसरोवर तीर्थका लागि फाटफुटरूपमा भारतीय तीर्थ यात्रुको आगमन भइसकेको र तीर्थका लागि रसुवागढी नाकाबाट दुई चरणमा १२ जना त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

हेमन्त र शिशिर ऋतुको समय अर्थात मङ्सिर, पुस र माघ महीनामा परेका हिउँ पग्लिने क्रम शुरू भई आवतजावतमा सहजता आउन थालेपछि मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको बताउँदै अध्यागमन प्रमुख धर्तीले यात्रुको यात्रा अब असोज महीनासम्म चल्ने बताए ।

यसभन्दा अगाडिको अभिलेख अध्यायन गर्दा मानसरोवर तीर्थ जाने अधिकांश यात्रु भारतीय मुलका भएका र उनीहरू रसुवागढी नाका तथा हुम्लाको हिल्सातर्फको मुख्य यी दुई नाका प्रयोग गर्ने गरेको बताइएको छ ।

काठमाडौँ पोखरा, सुर्खेत हुँदै हुम्लाको सदरमुकाम सिमिकोटसम्म प्लेन र सिमिकोेटबाट हिल्सासम्म हेलिकप्टर प्रयोग गर्नुपर्दा खर्चको व्यायभार बढ्न जाँदा पछिल्लो समयदेखि मानसरोवरका तीर्थ यात्रुले रसुवागढी नाकाबाट मोेटर प्रयोग गर्न थालेको पर्यटन व्यवसायीले बताएका छन् ।

मानसरोवर तीर्थका लागि गत सिजनमा सात हजार २४७ यात्रुले रसुवा नाका प्रयोग गरेको अध्यागमन कार्यालय तथ्याङ्कले देखाएको छ ।
रसुवागढी नाका प्रयोग गरी मानसरोवर तीर्थ जाने भारतीय यात्रु भने पाँचदेखि सात दिनभित्र नेपाल फर्कने गरेको अध्यागमन प्रमुख घर्तीले बताए ।